धुलिखेल- बीपी राजमार्गमा साँझ ६ः३० बजेदेखि विहान ५ बजेसम्म यात्रुवाहक सवारीसाधन चलाउन रोक लगाएईएको छ । काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका अन्तरजिल्ला समन्वय समितिको बैठकले बाढीपहिरोको जोखिमलाई मध्यनजर गरी सवारी चलाउन रोक लगाएका हुन् ।

शुक्रबार बसेको बैठकले भोलि शनिबारदेखि लागु हुनेगरी १५ दिनको लागि साँझ ६ः३० देखि विहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाउने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । उक्त सूचना जारी गर्नको लागि आजै तीन जिल्लाको संयुक्त विज्ञप्ति जारी गरेको छ ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो । छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।
यात्रुलाई सुरक्षा दिनको लागि यो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।