काठमाडौं । गायक तथा संगीतकार अनिल लामाले निर्माण गरेको भावनात्मक गीत ‘शैलुङ्गे मेला भाग २’ डिजिटल बजारमा सार्वजनिक भएसँगै पुनः चर्चा बटुल्न थालेको छ। यसपटक गीतले मात्रै होइन, भिडियोमा देखिएको लोकप्रिय गायक राजु लामाको नयाँ लुक्सले समेत दर्शकको ध्यान खिचेको छ।
पहिलो भागको अपार सफलतापछि बिहीबार ‘अनिल लामा अफिसियल’ युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा जिन्दगीभर एकअर्कालाई प्रेम गरे पनि परिस्थितिले जुदिन बाध्य प्रेमी–प्रेमिकाको करुण कथा प्रस्तुत गरिएको छ, जुन अन्ततः मृत्युको क्षणमै उनीहरूबीचको अन्तिम भेटमा टुंगिन्छ।
यद्यपि कथा जटिल शैलीमा प्रस्तुत भएकाले त्यसको गहिरो अर्थ समेझन दर्शकलाई पहिलो भाग पनि हेर्नुपर्ने सर्जक अनिल लामाले सुझाव दिएका छन्। उनका अनुसार ‘शैलुङ्गे मेला २’ भाग १ कै कथाको विस्तार हो, तर अडियो–भिडियो दुवैमा फरक स्वाद दिइएको छ।
गीतमा सम्झनाले बगाएको, मायाले रुमल्लिएको, र अन्त्यमा आँशुले निथ्रिएको प्रेमकथा छ। दर्शकलाई छोपेर लैजाने दृश्य–शैलीले गहिरो भावुकता सिर्जना गर्छ।
अनिल लामाको शब्द, संगीत र कथा, अनि नेपाली सांगीतिक जगतका लोकप्रिय गायक राजु लामाको मर्मस्पर्शी स्वरसँगै जितु लोप्चन, सुमिना लो, रेश्मा बोम्जन र लक्ष्मी स्याङ्तानको सशक्त साथले गीतलाई थप प्रभावशाली बनाएको छ। भिडियोतर्फ सोनाम पाख्रिनको निर्देशनमा, गायक राजु लामा, एलिशा राई र कुईसाङ रुम्बाको भावनात्मक अभिनयले कथा जिउँदो बनाएको छ।
शैलुङ्गे मेला १ ले १३.५ मिलियनभन्दा बढी भ्यूज बटुलिसकेको छ भने शैलुङ्गे मेला २ले पनि त्यस्तै सफलता दोहोर्याउने संकेत देखाइरहेको छ।
नपाएको माया, गुमाएको साथ, र अन्तिम भेटको समर्पण– यही भावनाको ताजगी लिएर आएको छ शैलुङ्गे मेला भाग २।