सिन्धुपाल्चोक – शान्तिको स्पर्श, धर्मको सुगन्ध र संस्कृतिको उज्यालो बोकेर, सुनकोसी गाउँपालिका–५, रतनकोटका पहाबीच ९ दिनसम्म बगिरहेको थियो एक दिव्य ध्वनि—बुद्ध वचनको। यही ध्वनि थियो, कांग्युर (त्रिपिटक) ग्रन्थ वाचनको, जसले केवल अक्षर उच्चारण गरिरहेको थिएन, आत्मा स्पर्श गरिरहेको थियो।
जेठ २८ गतेदेखि आषाढ ६ गतेसम्म चलेको यस अनुष्ठानमा ३१ जना श्रद्धेय लामा गुरुहरूले विश्व शान्ति, मानव कल्याण र सम्पूर्ण प्राणी जगतको मुक्तिको कामनासहित १०८ ठेली ग्रन्थको पाठ सम्पन्न गरे। यस दिव्य साधनाको मूल प्रेरक बने—गुरु रिन्पोछे निर्माण तथा संरक्षण समितिका प्रमुख सल्लाहकार, धर्मनिष्ठ समाजसेवी श्री कर्म लामा, जसको समर्पणले सम्पूर्ण गाउँलाई अध्यात्मको उज्यालोमा भिजाएको थियो।
यस विशेष अवसरको चयन पनि साधारण थिएन। सागा दावा, अर्थात् बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनामा मनाइने यो शुभ महिना, जसमा गरिएको प्रत्येक पुण्य कार्य अनन्त गुणा बढी फलदायी हुने मानिन्छ। यसैले, यस त्रिपिटक वाचन महायज्ञले केवल शब्द मात्र बोलेन, उसले गाउँका हरेक चेतनामा धर्मको रस भरेर गयो ।
कार्यक्रमको समापन दिन, ‘क्ष्योईखोर’ अर्थात् गाउँ परिक्रमा विशेष आकर्षण बन्यो। वाजागाजाको संगत, परम्परागत लुगामा सजिएका धर्मलम्वीहरू, अनुहारमा शान्तिका रेखाहरू, हातमा बुद्धवाणीका पुस्तकहरू—सबैले मिलेर त्यो परिक्रमा एउटा जीवित धर्म–यात्राजस्तो देखिएको थियो भनेर गुम्बाका सल्लाहकार प्रेम लामाले तेमाल अनलाइनलाई बताउनु भयो ।
पाठमात्र होइन, यो कार्यक्रममा प्रज्ञापारमिता पूजा, ध्यान साधना, र बोधिसत्व भावना बोकेको सामूहिक प्रार्थना पनि गरिएको थियो। यसले धर्मको बहुआयामिक स्वरूप प्रस्तुत गर्यो—जहाँ दर्शन, अभ्यास र सहभागिता एकैसाथ चलिरहेका थिए।
स्थानीय धर्मगुरुहरूको भनाइमा, “यस्ता आयोजनाहरूले हाम्रो संस्कृति बचाउँछ, भावी पुस्तालाई धर्मतर्फ आकर्षित गर्छ र हाम्रो पहिचानलाई जोगाउँछ।”
कार्यक्रमपछि आयोजक समितिले सम्पूर्ण सहयोगी हातहरूलाई आभार प्रकट गर्दै यस धार्मिक चेतनाको दीप अझ टाढासम्म फैलाउने प्रतिज्ञा पनि गरे।
रतनकोट यो सात दिनमा केवल एक गाउँ थिएन—यो एउटा धर्म–संस्कृति–शान्तिको संगमस्थल बन्यो, जहाँ बुद्धको वाणीले हरेक मनलाई छोयो, र एकपटक फेरि सम्झाइदियो—धर्म केवल पाठ होइन, अभ्यास हो; शान्ति केवल सपना होइन, साधना हो।
यस्तो महान धार्मिक कार्यक्रम गुम्बाले गरेको यो दोस्रोपटक हो अब तेस्रोपटक सम्म निरन्तर गर्ने आयोजकले बताएको छ ।