बनेपा– काभ्रे जिल्लाको बनेपा र पनौती क्षेत्रमा दुईवटा अलग–अलग सवारी दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
हिजो दिउँसो करिब १:०० बजे बनेपा नगरपालिका–७ गोदामचोक नजिक पनौतीतर्फ गइरहेको ना.४ च ५९४५ नम्बरको योद्धा गाडीले बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.प्र.०२–०२३ प ६०२३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ज्ञानध्वज तामाङ गम्भीर घाइते भएको थिए ।
बनेपा–७ बसपार्क पछाडि डेरा गरी बस्ने र स्थायी ठेगाना तेमाल गाउँपालिका–१ काभ्रे, अन्दाजी ४५ वर्षका तामाङलाई शीर मेमोरियल अस्पताल, बनेपामा उपचारकै क्रममा दिउँसो २:०० बजे डाक्टरले मृत घोषणा गरेका थिए । घटनापछि ठक्कर दिने गाडी चालक फरार भएका छन् ।
यसैबीच हिजो अपरान्ह करिब ३:०० बजे पनौती नगरपालिका–५ सुन्दरबस्तीस्थित बीपी राजमार्ग खण्डमा अर्को सवारी दुर्घटना भएको छ। काभ्रेभञ्ज्याङबाट काठमाडौंतर्फ गइरहेको बा.प्र.०३–०२–०१० प २३१० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०३–००१ ज ४४१ नम्बरको इभी गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार दुबैजना घाइते भएका हुन् ।
घाइतेमध्ये चालक महोत्तरी बर्दिबास नगरपालिका–५ निवासी, नेपाली सेनाको बर्दिबास फील्ड अस्पतालमा कार्यरत २९ वर्षीय सिपाही श्यामकुमार थिङ हुन् । उनको गालामा, दाहिने हात र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको छ ।
पछाडि सवार अर्की घाइते सिपाही २४ वर्षीया सरस्वती तामाङ काठमाडौं घर भई हाल सर्लाहीस्थित नेपाली सेनाको कालिध्वज गणमा कार्यरत छिन् । उनको दुवै हात र कम्मरमा चोट लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।
दुर्घटनापछि दुवै घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। इभी गाडी र त्यसका चालक सिन्धुली कमलामाई नगरपालिका–५ निवासी ३१ वर्षीय निमबहादुर मोक्तान जिल्ला प्रहरी कार्यालय काभ्रेको नियन्त्रणमा रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।