बेथानचोक – बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा रानाले बाढीपहिरो प्रभावित क्षेत्रमा राज्यका तिनै तह (स्थानीय, प्रदेश, संघ) बीच समन्वय, सहकार्य र जवाफदेहीताको चरम अभाव रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टी जाहेर गर्दै उपाध्यक्ष रानाले यस्ताे धारणा ब्यक्त गरेका हुन् ।

बिपदपछि प्रभावित बस्तीमा आश्वासन बाड्न आउने तर प्रभावकारी राहत र पुनःस्थापनाको योजना नबनाउने सरकारी प्रवृत्तिबाट जनताको विश्वास टुट्दै गएको उनको टिप्पणी छ। “योजना बिनियोजन होइन, वितरण भएको छ; आवश्यकतामा होइन, आफूखुसीमा।” उपाध्यक्ष रानाले भने, “जनता त्रासदीमा छन्, उनीहरूलाई सेवा गर्नु पहिलो कर्तव्य हो।”

उनका अनुसार बाढीपहिरोले घर बगाएका, पुरिएका र जोखिमपूर्ण बस्तीहरू तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था छ, तर त्यसको लागि बजेट छैन। खेतीयोग्य जमिन पहिरो र बगरमा परिणत भएका छन्, बाटोहरू तहसनहस छन्, तर सरकारका तीनवटै तहबीच समन्वय हुन सकेको छैन।

उपाध्यक्ष रानाले जनप्रतिनिधि, राजनीतिक दल र कर्मचारी सबैमा उत्तरदायित्वको अभाव रहेको बताउँदै भने “मुख्य सडकदेखि शाखा सडकसम्म, संघीय तहदेखि वडासम्म कसैले पनि जिम्मेवारीपूर्वक काम गरेको पाइँदैन। सिस्टमको उल्लंघन भइरहेको छ, संघीयताको मर्मको अपमान भइरहेको छ। वडा देखि संघसम्म कोही पनि चोखा छैनन्।”

उनको भनाइमा, योजनाहरु राजनीतिककरण, गन्तव्यहीनता र विवेकहीनताले ग्रसित छन्, जसले गर्दा जनताको पीडा झन् बढेको छ। “पहिले मानव सेवा गरौं, जनता बचाउनु नै सबैभन्दा ठूलो काम हो। त्यसपछि मात्र अरु काममा लागौं।” उनको जोड छ ।

उपाध्यक्ष रानाले बिपदजस्ता गम्भीर विषयमा दलहरूबीच सामूहिक निर्णय र साझा धारणा आवश्यक रहेको बताउँदै जति नै राजनीतिकरण गरेर योजना बाँडिए पनि त्यो सार्थक छैन भने, जनता आफैंले त्यो राजनीतिकरणलाई उल्ट्याउने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।