धुलिखेल- काभ्रे जिल्लाकाे धुलिखेल नगरपालिका–२ देवीटारमा रहेको बुद्धचित्त माला गएराती अज्ञात समुहद्वारा चोरी गरिएको छ । डिलबहादुर तामाङको बारीमा रहेको उक्त माला रोशी गाउँपालिका–८ का उर्गेन तामाङले खरिद गरेका थिए । माला संरक्षणका लागि उनले दुई जना सुरक्षाकर्मी राखेका थिए ।
सुरक्षार्थ खटिएका रोशी–७ का मणिक शाह र उदयपुरका मिलन राईलाई राति करिब १२ः३० बजेको समयमा १२ देखि १५ जनाको समुहले आक्रमण गर्दै नियन्त्रणमा लिएको थियो । जानकारी अनुसार ती व्यक्तिहरु तामाङ भाषा बोल्थे । उनीहरुले सुरक्षामा खटिएकालाई हात पछाडि बाँधेर लडाइदिएका थिए र घाँटीमा खुकुरी राखेर धम्की दिएका थिए ।
लुटेरु समूहले करिब १३ लाख पर्ने बुद्धचित्त माला टिपेर फरार भएको र सुरक्षाको लागि बसेका व्यक्तिहरुको मोबाइलसमेत लिएको बताइएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालयबाट टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार लुटपाटमा संलग्न समूहको पहिचान तथा पक्राउका लागि आवश्यक अनुसन्धान तीव्र पारिएको छ ।
स्थानीयबासी र बुद्धचित्त व्यवसायीबीच उक्त घटना प्रति आक्रोश व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।