काठमाडौं –  तामाङ सांगीतिक आकाशममा तामाङ  भाषामा गहिरो भाव र पीडालाई शब्द र संगीतमा ढालेका गायक कुमार तामाङले नयाँ गीत “ङाला माया” सार्वजनिक गरेका छन्। माया भनेको सधैं साथ रहने भाव मात्र होइन, कहिलेकाहीँ टाढिँनु पर्दाको बाध्यता, अधुरो सपना र अव्यवस्थाको पीडादायी चक्र पनि हो भन्ने कुरा यस गीतमा अत्यन्तै गहिरो भावमा व्यक्त गरिएको छ।

गीत “ङाला माया” मा झल्किन्छ—
केही आशा बोकेका प्रेमीहरूको कथा,
केही अधुरा सपनाको सम्झना,
केही बिछोडिनु पर्ने विवशता,
र अन्ततः— सपना पछ्याउँदै जाँदा बिपना सहिद बनेको बेथितिको कथा।

गीतका शब्द र संगीत चर्चित गायक अमृत लामाले सिर्जना गरेका हुन्, जसले प्रेम र पीडालाई अत्यन्त सरल र जीवन्त शैलीमा उतारेका छन्। संगीत संयोजन तथा मिक्सिङमा अर्पण थिङको योगदान रहेको छ। गीत अर्पण स्टुडियोमा रेकर्ड गरिएको हो भने डाम्फु मिडियाको पोस्ट–प्रोडक्सनले यसलाई आकर्षक रूपमा प्रस्तुत गरेको छ।

गायक कुमार तामाङको आवाजमा गहिरो अनुभूति र मार्मिकता मिसिएको छ। आवाजमा रहेको भावनात्मक तरंगले श्रोता–दर्शकलाई प्रेमको मिठास मात्र होइन, समाजको यथार्थ पीडा पनि महसुस गराउँछ।

“ङाला माया” केवल एउटा प्रेम गीत होइन।
यो गीत हो—
तिनलाई समर्पित जसले आफ्नो जीवनका सपना प्रेमका हात समाउँदै अघि बढाएका थिए,
तर समय, परिस्थिति र समाजका बेथितिका कारण
त्यही सपना टुक्रिएर आँसु बने, बिछोड बने, अनि कहिल्यै नसुनेको मौन चिच्याहट बने।

यो गीत सुन्दा, हेर्दा, महसुस गर्दा
तपाईं आफैंभित्रको कुनै पुरानो चोट रिसाइरहेको जस्तो लाग्न सक्छ।यति सजीव छ यसको प्रस्तुति।

“ङाला माया” डम्फू मिडियाको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ।सपना, प्रेम र यथार्थको त्रिकोणमा जकडिएको हरेक मनको कथा हो यो गीत।

“ङाला माया” जहाँ मायाले आशा बोकेको छ, पीडाले संगीत गाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।