महाभारत- काभ्रे जिल्लाकाे महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा सम्मानित भएका छन् । गत आवको लेखापरीक्षणबाट यो गाउँपालिकाको बेरुजु शून्य कायम गराउन सफल भएको भन्दै महालेखाले उत्कृष्ट पालिकाका रूपमा गाउँपालिका अध्यक्ष जिम्बालाई सम्मान गरेको हाे ।
महालेखाको ६७औँ वार्षिकोत्सव समारोहमा आइतबार सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाको प्रशंसापत्र जिम्बालाई प्रदान गरेका थिए । गत आवमा गाउँपालिकाले चालू, पुँजीगत र वित्तीय/अन्य व्यवस्थातर्फ गरेर कुल ७२ करोड ८८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको थियो । महालेखाले लेखापरीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट ५७ लाख रुपैयाँ बेरुजु कायम भएको थियो । तर, त्यो पूरै रकम गाउँपालिकाले फर्स्याेट गरिदिएपछि महालेखाले बेरुजु सम्परीक्षण गरिदिएको थियो ।
अध्यक्ष जिम्बाले आफूहरूको निष्ठा र कानुनसम्मत काम गराइको परिणामले गाउँपालिका बेरुजुविहीन भएको प्रतिक्रिया दिए । ‘हाम्रोभन्दा पनि कानुनसम्मत तरिकाले काम गर्याैँ,’ उनले भने, ‘कानुनबमोजिम मात्र काम गर्ने दृढसंकल्पले नै यो सम्भव भएको हो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























