हेटौंडा- बागमती प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि छलफल बारम्बार स्थगित भएको र बजेट निर्माणमै गम्भीर नीतिगत त्रुटि भएको भन्दै प्रदेश सभामा प्रतिनिधित्व गर्ने तीन प्रतिपक्षी दलहरुले आपत्ति जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार एक संयुक्त वक्त्वय जारी गर्दै बजेट नसच्याए सरकारले नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने चेतावनी दिएका छन् ।
असार १ गते नै आर्थिक मामिला मन्त्री र सचिवबिचको विवाद सार्वजनिक भएको तथा मन्त्रालयहरुबीच समन्वय अभाव देखिएको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् । यसले गर्दा सत्ता घटक दलहरुबीचको असमझदारी छरपस्ट भएको र उक्त दिन समयमा बजेट आउन नसकेको उनीहरुको भनाइ छ । राती अबेर मात्र बजेट प्रस्तुत भएको पनि बजेट हेर्दा सरकार बजेट निर्माणमा पूर्णत असफल भएको प्रतिपक्षीको आरोप छ ।
बजेटमाथिको छलफल असार १२ गतेबाट सुरु गर्ने तय भए पनि सत्ताघटक दलहरुको आन्तरिक असन्तुष्टि र विवादका कारण बैठक बस्न नसकेको विज्ञप्तिमा उल्लेख छ । त्यसपछि सोमबार दिउँसो १ बजेका लागि सारिएको बैठक पनि पछि ४ बजेसम्म र अन्ततः अनिश्चितकालका लागि स्थगित गरिनुले प्रदेश सभालाई अनिर्णयको बन्दी बनाएको तथा सत्ताघटक दलहरुकै कारण बैठक प्रभावित भएको आरोप प्रतिपक्षीले लगाएका छन् ।
दलहरुसँग कुनै सल्लाह र जानकारीबिना सरकारले एकलौटी ढंगले बैठक सार्ने कार्यप्रति प्रतिपक्षीले गम्भीर आपत्ति जनाएका छन् । उनीहरुले बजेटमा गम्भीर नीतिगत त्रुटि रहेको, यो असन्तुलित, बिभेदकारी र ‘सेटिङ्ग’ मा आधारित भएको दाबी गरेका छन् ।
विज्ञप्ति मार्फत प्रतिपक्षी दलहरुले प्रदेश सभालाई बन्धक बनाएर बजेटमाथिको छलफलबाट भाग्नुभन्दा दलहरुसँग सम्वाद गरी आवश्यक निकास खोज्न सरकारलाई जोडदार माग गरेका छन् ।
उनीहरुले बजेटमा रहेका नीतिगत त्रुटि, असन्तुलन, बिभेद र ‘सेटिङ्ग’ सच्याएर मात्र समस्याको समाधान हुने बताएका छन् । यदि सरकारले यसो नगरेमा नैतिकताको आधारमा मार्ग प्रशस्त गर्नुपर्ने उनीहरुको भनाइ छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।