मकवानपुर– सत्तारुढ दल र प्रतिपक्षबिच बजेट सम्बन्धी विषयमा भएको सहमति कार्यान्वयनमा समस्या देखिएपछि बागमती प्रदेशसभाको बैठक पुनः अवरुद्ध भएको छ । बिहीबार सत्तारुढ दल र प्रतिपक्षबिच बजेट सम्बन्धी सहमति कार्यान्वय नभएपछि शुक्रबारको प्रदेशसभा बैठक अबरुद्ध भएको हाे ।
प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची तय भएपनि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले बिहीबारको सहमति कार्यान्वयन नभएको बताएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक रत्न प्रसाद ढकालले सरकार सहमतिबाट पछि हटेको आरोप लगाउँदै सहमति कार्यान्वयन नभएसम्म संसद् सञ्चालन नहुने स्पष्ट पारे । उनका अनुसार माओवादी केन्द्रले बिहीबारको सहमति अनुसार छुटेका योजनाहरू समेटेर मन्त्रिपरिषद्बाट निर्णय गरी संसद्मा ल्याउन माग गरेको छ ।
प्रमुख सचेतक ढकालका अनुसार सरकारले बिहीबारको सहमति सरकारबाट उल्लघंन गरेपछि बैठक अवरुद्ध भएको हो । सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नसक्ने उनको चेतावनी रहेको छ ।
प्रदेशसभा रोकेर केही बेर दलहरू बिच भएको बैठकमा समेत सहमति नजुटेपछि माओवादी केन्द्रले संसद्को काम अघि बढ्न नसक्ने अडान लिएको उनले बताए । माओवादी केन्द्रले बिहीबारको सहमति अनुसार छुटेका योजनाहरू समेट्ने गरी मन्त्रिपरिषद् बैठकको निर्णय गरेर संसद्मा ल्याउनुपर्ने माग गरेको उनको भनाई छ ।
शुक्रबारको बैठकमा विनियोजन विधेयक टेबुल गर्न ३० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । सो बिचमा केही समय दलहरूबिच छलफल भएपनि सहमति जुट्न नसकेको उनले बताए ।
बैठकपछि बसेको दलहरूबिचको छलफल निष्कर्षविहीन बनेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो । बैठक सञ्चालन हुन नसकेको पछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर शनिबार १ बजेसम्मका लागि प्रदेशसभा बैठक सारेको छ ।
यसअघि पनि बजेट माथिको छलफलका क्रममा पटक–पटक प्रदेशसभा अवरुद्ध हुँदै आएको छ । प्रतिपक्षले योजनाको समावेशीकरण र बजेटको न्यायोचित बाँडफाँटको माग गर्दै आएको छ ।
गत असार १२ गतेदेखि बजेट माथिको विवादका कारण प्रदेशसभा अवरोधको सिकार आएको छ । सत्तारुढ र प्रतिपक्ष दलबिच सहमति हुन नसक्दा असार १६ गतेका लागि बोलाइएको बैठक समेत स्थगित भएको थियो ।
असार १९ गते दलहरू बिच ८ बुँदे सहमति बनेसँगै सञ्चालनमा आएको प्रदेशसभा बैठक सहमति कार्यान्वयनको विषयलाई लिएर अवरुद्ध भएको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।