बनेपा- काभ्रे जिल्लाको बनेपामा भएको बुद्धचित्त माला चोरी घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार असार २१ गते राति करिब १:२० बजे बनेपा नगरपालिका–१०, रेशम मार्गस्थित भवानी पाण्डेको घरको कम्पाउण्डमा रहेको बुद्ध चित्तको माला चोरी भएको थियो ।

प्रहरीका अनुसार चोरीमा संलग्न रहेका २५/२६ वर्षका ४/५ जना अपरिचित व्यक्तिहरू घटनापछि फरार भएका थिए । घटनापछि सार्कीमान तामाङले इलाका प्रहरी कार्यालय बनेपामा लिखित उजुरी दर्ता गराएपछि अनुसन्धान सुरु गरिएको हो । घटनास्थलमा रहेका सीसीटिभी फुटेजहरू जाँच गरी प्राप्त हुलियाको आधारमा अभियुक्तहरूको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ।

अनुसन्धानकै क्रममा असार २६ गते बिहान करिब ११:३५ बजे बनेपा नगरपालिका–८ चारदोबाटोस्थित भित्री सडकखण्डमा लुकिछिपी हिँडिरहेका अवस्थामा तीन जनालाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेहरूमा महाभारत गाउँपालिका–४ बस्ने १९ वर्षीय विवेक लामा, सोही गाउँपालिका–२ बस्ने २० वर्षीय मिलन मोक्तान र वडा नं. ३ बस्ने १९ वर्षीय लवाड तामाङ रहेका छन् ।

पक्राउ परेका तीनै जनालाई चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दायर गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा छुटाइएका चार जोर चप्पल र जुत्तासमेत बरामद गरेको छ भने अन्य फरार अभियुक्तहरूको खोजी कार्य पनि जारी रहेको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।