काठमाडौं — तामाङ भाषामा निर्माण गरिएको बहुप्रतीक्षित प्रेमकथात्मक चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को विशेष प्रदर्शन यही असार २८ गते, शनिबार काठमाडौंस्थित नेपाल चलचित्र विकास बोर्ड, चाबहिलमा हुँदैछ। तामाङ समुदायको मौलिकता, संस्कृति, परम्परा र भावनात्मक सम्बन्धहरूलाई समेट्दै तयार पारिएको यो चलचित्रलाई तामाङ फिल्म उद्योगको आगामी यात्रामा नयाँ दिशा दिने आशाका साथ प्रस्तुत गरिएको छ।
नायक तथा निर्देशक हुत्त सञ्जय लामाले निर्देशन तथा मुख्य भूमिकामा अभिनय गरेको यो चलचित्रले युवा पुस्ताबीचको प्रेम, विछोड र सामाजिक सन्देशलाई अत्यन्त भावुक शैलीमा चित्रण गरेको छ। निर्देशक लामाका अनुसार चलचित्रले केवल मनोरञ्जन मात्र होइन, संस्कृति र भावनाको गहिरो अनुभूति दिन्छ।
चलचित्रका मुख्य पक्षहरू यसप्रकार छन्:
निर्माता: लोसाङ लामा र इकेश लामा
सह–निर्देशक: विश्वजंग माझी
द्वन्द्व निर्देशक: राजु दोङ तामाङ
छायांकन: प्रज्वल राउत
चलचित्रको शीर्ष गीतमा विछोड र बियोगको गहिरो भाव समेटिएको छ। उक्त गीतमा नायक हुत्त सञ्जय लामाको जीवन्त र प्रभावशाली अभिनयले दर्शकलाई भावुक बनाउने विश्वास गरिएको छ।
चलचित्रकी नायिका सुनिता लुङ्बाले यस चलचित्रमा विशेष योगदान दिएकी छन्। दर्जनौँ चलचित्रमा अभिनय गरिसकेकी लुङ्बाले भावुक हुँदै भनिन्:
“सबै चलचित्रमा मेहनत गरेकी छु, तर यो चलचित्र हेरेर म आफैं रोएँ। यो चलचित्र साँच्चिकै उत्कृष्ट बनेको छ।”
यस चलचित्रमा तारा थोकर, हेम कुमार तितुङ, प्रज्मी बोम्जन, राजकुमार स्याङ्तान, संगीता बोम्जन, भुइशल लामा, माया देवी मोक्तान, मिलन स्याङ्तान, हिरोज लोप्चन लगायतका कलाकारहरूको अभिनय पनि चलचित्रमा समावेश छ।
चलचित्र निर्माण टिमले काठमाडौं तथा वरपरका सम्पूर्ण दर्शकहरूलाई भोलि हुने विशेष प्रदर्शन कार्यक्रममा सहभागी भई तामाङ भाषिक सिनेमा र संस्कृतिको उत्सवमा साथ दिन हार्दिक अनुरोध गरेको छ।
‘ए ङाला ह्राङ्बा माया’ लाई तामाङ सिनेमा क्षेत्रको एक महत्वपूर्ण कोसेढुंगाको रूपमा हेरिएको छ, जसले नयाँ सोच, सिर्जना र सम्भावनालाई उजागर गर्नेछ।