रोशी– लगातारको वर्षासँगै आएको भेल र लेदोले काभ्रेको रोशी गाउँपालिका क्षेत्रभित्र पर्ने बि.पि. राजमार्गको दुई स्थानमा यातायात अवरुद्ध भएकोमा स्थानीय प्रशासन र मेसिनको सहयोगमा दुवै ठाउँमा राजमार्ग पुनः सुचारु गरिएको छ। राजमार्ग आझ विहानै देखि सञ्चालनमा आएको हाे ।

आइतबार राति १०:३५ बजे काभ्रे जिल्लाको रोशी गाउँपालिका–११ स्थित माम्ती खोलामा अचानक भेल आउँदा बि.पि. राजमार्गको सो खण्डमा सडक कटान भई यातायात दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको थियो। सो स्थानमा खटिएका दुई वटा JCB को सहयोगमा मिति आज बिहान ६:०० बजेबाट सडक पुनः सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी, सोही दिन बेलुका ६:३० बजे रोशी गाउँपालिका–९ पिन्थलीस्थित बि.पि. राजमार्ग खण्डमा खहरे खोलाको लेदो आउँदा बाटो दुईतर्फी अवरुद्ध भएको थियो। स्थानीय तह, सुरक्षाकर्मी र डोजरको सहकार्यमा बिहान ५:५५ बजे उक्त स्थानमा पनि सडक खुलाइएको छ।

लगातारको वर्षा र खोलामा आएको बाढीले राजमार्ग अवरुद्ध हुन थालेपछि यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ। सम्भावित जोखिमका कारण सचेत रहन र सुरक्षित यात्राका लागि सम्बन्धित निकायले सतर्कता अपनाउन आग्रह गरेको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।