तेमाल– काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ८ का पूर्व वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङको गए राती निधन भएको छ । घिसिङको निधन प्रति नेकपा (माओवादी केन्द्र) तेमाल गाउँपालिका कमिटीका अध्यक्ष डिलबहादुर थोकर (ग्याम्जो)ले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तेमाल गाउँपालिका कमिटीका पूर्व सचिव तथा २०७४ सालको स्थानीय तह निर्वाचनमा तेमाल गाउँपालिका–८ बाट वडाध्यक्ष पदमा जननिर्वाचित नेता घिसिङको ६४ वर्षको उमेरमा निधन भएको हाे ।
पार्टीले आज एक शोक वक्तव्य जारी गर्दै दिवंगत घिसिङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । पार्टीका अध्यक्ष थाेकरद्वारा जारी वक्तव्यमा भनिएको छ, “उहाँको निधनबाट पार्टीले एक क्रान्तिकारी, निष्ठावान, स्वाभिमानी र समर्पित योद्धा गुमाएको छ।”
वि.सं. २०१८ साल कात्तिकमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ (साविक मेच्छे गाविस–६, टेकानपुर)मा बुबा औलतसिं घिसिङ र आमा सोमारानी तामाङको कोखबाट जन्मिनुभएका घिसिङ २०४३ सालको गाउँपञ्चायत निर्वाचनमा जनपक्षीय उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए । २०५७ सालदेखि औपचारिक रूपमा तत्कालीन नेकपा (माओवादी)मा आबद्ध भएर उनले १० वर्षे जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०६२ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गरेका घिसिङ पार्टी संगठन निर्माणदेखि जनसेवा र समाजसेवामा सक्रिय रहँदै आएका थिए । उनी तेमाल गाउँपालिका कमिटीको सचिव तथा वडा अध्यक्ष समेत बनेका थिए । २०७४ सालको निर्वाचनमा उनले वडाध्यक्ष पदमा अत्यधिक मतले विजय हासिल गरेका थिए भने २०७९ सालको स्थानीय तह निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए ।
पार्टी अध्यक्ष थोकरद्वारा जारी वक्तव्यमा भनिएको छ, “शोकको यस घडीमा शोकलाई शक्तिमा बदल्दै हामी सम्पूर्ण पार्टी पंक्ति, शुभेच्छुक तथा जनसमुदायमा हार्दिक अपिल गर्दछौं।”
यस्तो छ शवक वक्तव्य
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।