कठामाडौं- रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा पर्यटनको सम्भावनाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भृकुटीमण्डप स्थित पर्यटन बोर्डको हलमा गाउँपालिकाको आयोजनामा भएको सो कार्यक्रममा विभिन्न दलका नेताहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कान्छाराम तामाङले सुनापतिमा पर्यटनको प्रचुर सम्भावना रहेको बतााउँदै सुनापतिलाई खाँडादेवी गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकासम्म कालोपत्रे सडकमार्फत जोड्न सकेमा पर्यटनको सम्भावना थप बलियो हुने तामाङ दावी गरे । ‘सुनापतिबाट गाल्पासम्मको सडक कालोपत्रे बनाउन सकेमा पर्यटनको सम्भावना थप बढ्छ ।’ तामाङले भने ।

यसेबीच नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्व सांसद श्याम कुमार श्रेष्ठले रामेछापलाई युद्ध पर्यटनको रूपमा पनि चर्चा गर्ने गरिएको भन्दै सुनापतिको पर्यटनमा युद्ध पर्यटनलाई पनि केन्द्रित गर्नुपर्नेमा जोड दिए । श्रेष्ठले सुनापति, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकालाई जोडेर आन्तरिक पर्यटनलाई विकाश गर्नुपर्ने बताए ।
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलले पनि सुनापति र दोरम्बा गाउँपालिको सहकार्य गरेर पर्यटन प्रवर्द्धनको कार्यक्रम अगाडी लैजानुपर्ने बताए । पौडेलले भने, ‘सुनापतिको देसारगाउँमा तामाखानी उत्खनन गरेका सुरुङहरू छन्, त्यसबारे अध्ययन गर्नुपर्छ ।’ सुनापतिमा रहेका सुवेदार जम्दार धारो र अग्लेश्वरी पहाड जस्ता ऐतिहासिक कुराहरूलाई प्रचार गर्न सकेमा पर्यटनको विकाश गर्न सकिने पौडेलले बताए ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती र नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा रामेछाप इन्चार्ज कमल प्रसाद चौलागाईं लगायतले पर्यटनको सम्भावनाबारे चर्चा गरे ।

सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङले सुनापतिमा पर्यटकीय क्षेत्रको प्रचारप्रसार, संरक्षण, सम्बर्द्धन तथा आन्तरिक र बाह्य पर्यटनको विकाश गर्न संघीय तथा प्रादेशिक सरकार, विभिन्न संघ संस्थाहरुलाई संरचना तथा पुर्वाधार बिकासका लागि लगानी, सहयोग र सहकार्यलाई जोड दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।