सुनापति- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा बजेटको प्रभावकारी कार्यान्वय भएको सार्वजनिक भएको छ । बिहीबार सम्पन्न गत आर्थिक वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले कुल बजेटको ८०.५६ प्रतिशत खर्च भएको जानकारी गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गत आर्थिक वर्षको कुल बजेट ५३ करोड २८ लाख ७७ हजार ४४० रूपैयाँ रहेको जानकारी दिँदै पुँजीगत तर्फ १५ करोड ४१ लाख ९५ हजार ६८५ रूपैयाँ बजेट विनियोजन गरिएकोमा ७६.२५ प्रतिशत खर्च गरिएको र चालु तर्फको ३० करोड ४२ लाख ७३ हजार २२६ रूपैयाँ मध्ये ८२.९५ प्रतिशत खर्च भएको बताए ।
सुनापति गाउँपालिकामा रहेको ५ वटै वडामा गरी ७८ वटा योजना निर्माण गरिएको जानकारी दिँदै उनले सबै योजना समयमै सम्पन्न भई भुक्तानीसमेत गरिएको र योजनाहरू कार्यान्वयनमा प्रभावकारीता देखिएको दाबी समेत गरे ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा आर्थिक वर्षभरि भएका विकास निर्माण, सेवा प्रवाह तथा बजेट कार्यान्वयनको प्रगति विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी भएका नागरिकहरूले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा पालिका र वडा तहबाट प्रवाह भएका सार्वजनिक सेवाहरूसँग सम्बन्धित प्रश्नहरू राखेका थिए।
नागरिकका जिज्ञासामा गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङ, प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठ, विभिन्न शाखा प्रमुखहरू र वडा अध्यक्षहरूले जवाफ दिएका थिए ।
उपस्थित सरोकारवालाहरूले सेवा प्रवाहमा देखिएका कमजोरी, ढिलासुस्ती, पारदर्शिता, प्राथमिकता निर्धारणलगायतका विषयमा आफ्ना धारणा राखेका थिए। स्थानीयको सुझाव र प्रतिक्रिया आगामी योजना निर्माण र कार्यान्वयनमा समावेश गरिने गाउँपालिका अध्यक्ष तामाङले प्रतिबद्धता जनाएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























