धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–२ स्थित बिस किलोमा आज बिहान सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार बिहान करिब ७:४४ बजे नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले बिपरित दिशाबाट आइरहेको बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

ठक्करमा परेका बा.प्र. ०३–०२–००७ प ८८०० नम्बरको स्कुटर चालक किशोर तिमल्सिना (४६), वासिन्दा नमोबुद्ध–२, सामान्य घाइते भएका छन् भने स्कुटरमा पछाडि सवार उनका बुबा टंक प्रसाद शर्मा (७२) गम्भीर घाइते भएका छन्। उनीहरूको उपचारका लागि धुलिखेल अस्पतालमा पठाइएको छ।

त्यस्तै, ठक्कर दिने स्कुटर चालक निमा तेम्वा थोकर (२६), वासिन्दा दोलखा मेलुङ गाउँपालिका–३ हाल काभ्रे रोशी गाउँपालिका–८, पनि सामान्य घाइते भएका छन्। उनलाई मेथिनकोट अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।

हाल ठक्कर दिने स्कुटर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।