तेमाल- काभ्रे जिल्लाको तेमाल गाउँपालिकाद्वारा काठमाडौं उपत्यकामा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नविकरणका लागि विशेष शिविर आजबाट शुरु भएको छ । काठमाडौँको कुमारीगालमा रहेको आकाशगंगा स्कुलमा आयोजित शिविरबाट जम्मा ६२ जना लाभान्वित भएका छन् ।

शिविरको गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले उद्घाटन गरेका थिए । अध्यक्ष तामाङ स्वयं दिनभर शिविरस्थलमै उपस्थित रही सम्पूर्ण कार्यको अवलोकन गर्नुका साथै सेवाग्राहीहरूसँग प्रत्यक्ष संवाद पनि गरेका थिए ।

शिविरको नेतृत्व पालिकाको पञ्जिकरण शाखा प्रमुख उद्वव प्रसाद पाण्डेले गरेका थिए । नविकरण प्रक्रिया सहज बनाउनका लागि रामराज खरेल, इन्द्रबहादुर चिमौरिया र अनिता श्रेष्ठलाई पालिकाबाट खटाइएको थियो।

शिविर सञ्चालनका लागि आकाशगंगा स्कुलले स्थान प्रदान गरी महत्वपूर्ण सहयोग गरेको थियो। पालिकाका तर्फबाट स्कुल परिवारलाई धन्यवाद समेत व्यक्त गरिएको छ।

यस शिविरले तेमाल गा.पा का सामाजिक सुरक्षा लाभग्राहीहरूलाई सहजरूपमा सेवा प्राप्त गर्न टाढाबाट आउनुपरेको झन्झटलाई कम गर्नुका साथै अभिलेख अद्यावधिक गर्न सहयोग पुगेको जनाइएको छ । काठमाडौंमा आइ बसोबास गर्ने सेवाग्राहीहरु गाउँमा जानु नपरेपछि खुशी भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।