बनेपा-  नेकपा (माओवादी केन्द्र) काभ्रे जिल्ला समन्वय समितिको भेला सम्पन्न भएको छ । आज जिल्ला संयोजक भोला अर्यालको अध्यक्षतामा र पार्टीका केन्द्रिय सदस्य सूर्य सुवेदी ‘पथिक’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलामा जिल्ला सचिव चयन गर्ने प्रस्ताव राखे पनि सहमति नजुटेका कारण सचिव चयन हुन नसकेको बताइएको छ । बैठकमा सहभागी एक नेतका अनुसार अबको अर्को बैठकमा साझा प्रस्तावसहित सचिव चयन गरिने निर्णय भएको छ ।

यसैबीच भेलाले कूल १७५ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको जिल्ला संयोजक अर्यालले जानकारी दिए । उनका अनुसार भेला भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । भेलामा १२ वटा पालिकाका अध्यक्षहरुले रिपोर्टीङ पेश गरेको उनले बताए ।

बैठकमा प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, केन्द्रिय सदस्यहरू सूर्यमान दोङ, गंगाबहादुर तामाङ, रत्न ढकाल, रुकु चौलागाईं, मिना तामाङ र तेजबहादुर मिजार, अक्कलबहादुर थिङ, कृष्ण भण्डारी, होमकुमारी तामाङ, प्रदेश कमिटी सदस्यहरू, पालिका कमिटीका अध्यक्ष देखि सचिवसम्मको सहभागी रहेका थिए ।

बैठकले आगामी संगठनात्मक सुदृढीकरणका लागि थप छलफल तथा निर्णयहरू आवश्यक रहेको निष्कर्ष निकालेको छ । पार्टीले अब एकीकृत रुपमा संगठन सशक्त पार्ने र आगामी राजनीतिक अभियानहरूलाई प्रभावकारी बनाउन सामूहिक नेतृत्वमा अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।