काठमाडौं, असार — तामाङ कला, भाषा र संस्कृतिको समृद्ध यात्रामा समर्पित तामाङ चलचित्र संघ, बागमती प्रदेश कार्यसमितिले आफ्नो चौथो वार्षिक साधारण सभा, विशेष सम्मान समारोह र चलचित्र ‘अभियान’ प्रदर्शन–२०८२ कार्यक्रम भव्य र गरिमामय वातावरणमा सम्पन्न गरेको छ।
शनिबार, चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा लिसंगुपाखर गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष राजु तामाङ प्रमुख अतिथि थिए। कार्यक्रममा तामाङ समुदायको सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने कलाकार, समाजसेवी र पत्रकारहरूलाई उल्लेखनीय योगदानको कदरस्वरूप विशेष सम्मान प्रदान गरिएको थियो।
समारोहमा तामाङ भाषा तथा संस्कृति विद अजितमान लामा, तामाङ चलचित्र संघ बागमती प्रदेशका पूर्व अध्यक्ष आसमान वाइवा,पत्रकार सुदिन लामा लगायतलाई विधागत सम्मान प्रदान गरिएको थियो।
त्यस्तै, तामाङ चलचित्र क्षेत्रका नायक, निर्देशक, गायक तथा समाजसेवी व्यक्तित्वहरूलाई समेत कदरपत्र र प्रशंसा–पत्र प्रदान गरी उनीहरूको निरन्तर योगदानलाई सम्मान गरिएको थिए।
कार्यक्रमको सभापतित्व संघका अध्यक्ष दावा फिन्चो तामाङले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन महासचिव करण तामाङले प्रभावशाली ढंगले गर्नुभयो। संघको यो चौथो साधारण सभाले तामाङ चलचित्रको समृद्ध भविष्यतर्फ गम्भीर छलफल मात्र होइन, आगामी योजनाहरू पनि तय गरेको संकेत दिएको छ।
कार्यक्रममा विशेष रूपमा प्रदर्शन गरिएको तामाङ चलचित्र ‘अभियान’ले तामाङ समाजभित्रको बदलिँदो चेतना, सामाजिक उत्तरदायित्व र सशक्त सन्देशलाई कलात्मक माध्यममार्फत प्रस्तुत गरेको छ। चलचित्रले तामाङ फिल्म क्षेत्रको स्तर, विचार र निर्माण पक्षमा आएको प्रगतिको उदाहरणका रूपमा प्रशंसा पाएको छ।
तामाङ चलचित्र संघ बागमती प्रदेशले यो कार्यक्रममार्फत सांस्कृतिक पहिचान, भाषिक अभिव्यक्ति र सामूहिक आत्मबललाई मूर्त रूप दिएको छ। यस्तो समर्पित प्रयासले तामाङ समुदायको सिर्जनशीलता र सामाजिक उत्तरदायित्वप्रति सशक्त सन्देश दिएको छ।