सिन्धुपाल्चोक, ज्यामिरेमाने। गोले तामाङ समुदायको सांस्कृतिक, ऐतिहासिक र अस्तित्वको प्रतिक गोले बोम्बोको पूर्ण कदको सालिक यही श्रावण २४ गते (गोने ङ्ह्या / जनै पूर्णिमा) को पवित्र अवसरमा विधिवत रूपमा अनावरण हुने भएको छ।
ईन्द्रावती गाउँपालिका–८, ज्यामिरेमानेमा निर्माण सम्पन्न उक्त सालिकको उद्घाटन कार्यक्रम पालिका अध्यक्ष जम्क नेपाल ज्यु को प्रमुख आतिथ्यता र गोले तामाङ वंश उत्थान समाजका केन्द्रीय अध्यक्ष मीन गोले ज्युको विशिष्ट आतिथ्यतामा आयोजना गरिनेछ।
“संस्कार रहे संस्कृति रहन्छ, संस्कृति रहे पहिचान रहन्छ, पहिचान रहे अस्तित्व रहन्छ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै ईन्द्रावती गाउँपालिका पछिल्लो समय संस्कृति र इतिहास संरक्षणमा अग्रपंक्तिमा देखिएको छ।
वडाध्यक्ष डिल बहादुर श्रेष्ठ ज्युका अनुसार, १३ पुस्ताअघि थाङपाल गुन्साबाट बसाइ सरेर ज्यामिरे अर्चले क्षेत्रमा स्थायीत्व पाएका गोले तामाङहरूको पुर्खा सम्मान र पहिचानको अभिव्यक्तिका रूपमा यो सालिक निर्माण गरिएको हो। यससँगै धुर्साघाङ (चिहान डाँडा) क्षेत्रमा ज्याङ्छुप छ्योर्तेन, बुद्धपार्क लगायतको निर्माणमार्फत धार्मिक र पर्यटकीय स्थलको स्वरूप दिन लागिएको छ।
गोले बोम्बोले परापूर्वकालमा गोसाइकुण्डको नागसँग लडाइँ गरेको मौखिक इतिहास आज पनि समुदायभित्र जीवित छ। यही ऐतिहासिक कथा र गौरवलाई मूर्त रूप दिन सालिक निर्माण गरिएको टोल विकास समिति अध्यक्ष दयाराम गोले ज्युले जानकारी दिए।
सालिक अनावरणमा गोले समुदायको सांस्कृतिक झाँकी, सील, तथा लामा गुरुहरूको धार्मिक विधि–विधान सहित कार्यक्रम गरिने आयोजक पक्षले जनाएको छ।
कार्यक्रम आयोजकका अनुसार यो नेपालकै पहिलो गोले बोम्बोको पूर्णकदको सालिक हो, जसको निर्माण ईन्द्रावती गाउँपालिका २०८१/८२ को बजेट (रु. १० लाख) बाट गरिएको हो। साथै, सालिक निर्माणमा हेलम्बु क्षेत्रका खाइबो कलाकारहरूको अथक श्रम र सीप समाहित भएको उल्लेख गरिएको छ।
यो सालिक मात्र सिमित नभई गोले तामाङ समुदायको सामूहिक इतिहास, पहिचान र प्रेरणाको मूर्त प्रतीक हो। यो अनावरण समारोहले गोले समाजलाई आत्मगौरव, एकता र सांस्कृतिक चेतनातर्फ अभिप्रेरित गर्नेछ — जुन सम्पूर्ण समुदायको लागि ऐतिहासिक महत्व बोकेको दिन हुनेछ।