तेमाल- काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नविकरण शिविरबाट ५ सय ९१ जनाले सेवा लिएका छन् । साउन १० देखि १७ गतेसम्म सञ्चालन भएको उक्त शिविर काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा सञ्चालन गरिएको थियो ।

शिविरको उद्घाटन तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले गर्नु भएको थियो । अध्यक्ष लामासँगै उपाध्यक्ष दलमान थोकर पनि शिविर स्थलमै पुगेर सेवा लिन आएका नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै समग्र प्रक्रियाको अवलोकन गरेका थिए ।

पालिकाको पञ्जिकरण शाखा प्रमुख उद्ववप्रसाद पाण्डेको नेतृत्वमा सञ्चालित उक्त शिविरमा नविकरण सेवा प्रदान गर्न रामराज खरेल, इन्द्रबहादुर चिमौरिया र अनिता श्रेष्ठलाई खटाइएको थियो ।

शिविरमार्फत काठमाडौंको कुमारीगलमा ६२ जना, जोरपाटीमा ८५ जना, कपनमा ५८ जना, स्वयम्भूमा ७१ जना, कोटेश्वरमा १५२ जना, भक्तपुरको सूर्यविनायकमा ९८ जना र बनेपामा ६५ जना लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता नविकरण सेवा प्राप्त गरेका छन् ।

शिविरमार्फत उपत्यकामा बसोबास गरिरहेका तेमाल गाउँपालिकाका सामाजिक सुरक्षा लाभग्राहीहरूले अब गाउँसम्म पुग्नुपर्ने झन्झटबाट मुक्त भई सहज रूपमा सेवा प्राप्त गर्न सकेका छन् । अभिलेख अद्यावधिकमा समेत टेवा पुगेको जनाइएको छ ।

पालिकाका अध्यक्ष तामाङले आगामी दिनमा समेत यस्ता प्रवाही सेवा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।