धुलिखेल- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा अन्यत्र कोही नहुँदा पनि पूर्ण समर्थित हुने काभ्रेमा यस पटक फरक दृश्य देखिएको छ ।
ओली अध्यक्ष चुनिने बेलामा समेत ९० प्रतिशत मत एमाले काभ्रेबाट भएकोमा पछिल्लो समय उनैका विरुद्ध यहाँ समान्तर कमिटी बन्न थालेको हो ।
पार्टीको जिल्ला अधिवेशन देखिनै ओली पक्ष कमजोर बन्दै गएको एमाले काभ्रेमा अनेरास्ववियु हुँदै युवा संघमा समेत पूर्वराष्ट्रपति विद्या भण्डारी पक्षको एकलौटी कमिटी घोषणा गर्दै काभ्रेपलाञ्चोकको एघारौं जिल्ला अधिवेशन सकिएको छ ।
बागमती प्रदेश अध्यक्ष हरिशरण जमकट्टेल र काभ्रे इञ्चार्ज रहेका केन्द्रीय सदस्य सागर रायमाझीले अधिवेशन स्थगित गर्न दिएको निर्देशन समेत नमानेर पूर्वराष्ट्रपति समेत रहेकी पार्टीकी पूर्वउपाध्यक्ष भण्डारीको पक्षमा खुलेको जिल्ला नेतृत्वको समर्थन पाएको समूहले विवादबीच अधिवेशन गरेको हो ।
अधिवेशनबाट धुलिखेलका सीबी लामाको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । रमेश बुढाथोकी, सचिवमा अमन धिताल, सहसचिवमा राजेन्द्र लामा र सगुन थापा तथा कोषाध्यक्षमा शिवप्रसाद ढुंगेल निर्वाचित भए ।
त्यस्तै संगठन विभागमा प्रमुख किरण तामाङ चयन भएका छन् । भण्डारी समूहले अवरोधको प्रयासका बीच १३ वटै पालिका कमिटीबाट प्रतिनिधित्व गराउँदै अधिवेशन गरेको बताएको छ भने ओली समूहले आफूलाई पेलेर जान खोजिएको र अनधिकृत रुपमा अधिवेशन गरिएको आरोप लगाएका छ ।
ओली पक्षको नेतृत्व गरेका युवा संघका उपाध्यक्ष रुपक रायमाझीले जिल्लामा भएको अधिवेशन अवैधानिक भएको बताए ।
‘केन्द्रको निर्देशनमा प्रदेशले गरेको स्थगित भनेर गरेको सर्कुलर नमानी एक समूहले गरेको अधिवेशन विधिवत छैन, प्रतिनिधिमुलक छैन, भौगोलिक सन्तुलन छैन’, रायमाझीले भने ।
उनका अनुसार केन्द्र र प्रदेश कमिटीले गरेको परिपत्र अनुसार अधिवेशन स्थगित गर्नुपर्ने पक्षमा नमोबुद्ध नगर कमिटी, रोशी, महाभारत, खानीखोला, बेथानचोक र तेमाल गाउँपालिका कमिटीले दोहोरो निर्देशन र परिपत्र आएकाले विवादका बीच प्रतिनिधि चयन गर्न नसक्ने निर्णय गर्दै जिल्ला कमिटीलाई पत्र लेखेका थिए ।
पनौती नगरमा विवादका बीच नै दुईवटा पक्षलेनै प्रतिनिधि चयन गरेका थिए । यसअघि साउन १७ गतेका लागि अधिवेशन तोकिएको थियो । तर, दुई पक्षबीचमा विवाद कायम थियो ।
अधिवेशन रोक्न आइतबार बिहानै प्रदेश कमिटी अध्यक्षको नामको निर्देशनपत्र समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।
प्रदेश कमिटीको काम समन्वय गर्ने मात्र भएको र कार्यकारी अधिकार भएको केन्द्रीय कमिटीले कुनै निर्देशन नदिएका कारण अधिवेशन गरिएको अध्यक्ष इश्वरबल्लभ सापकोटाको बताए ।
अधिवेशनमा खानीखोला गाउँपालिकाका बाहेक जिल्लाका १ सय २८ वडाका एक/एक जना र १२ पालिकाबाट तीन जनाको दरमा ३६ जना गरी १ सय ६४ प्रतिनिधि अधिवेशनमा सहभागी भएको सापकोटाले जानकारी दिए ।
अधिवेशनको उद्घाटन नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले गरेका थिए । अधिवेशन उद्घाटनका लागि केन्द्रीय अध्यक्ष क्षितिज थेबे प्रमुख अतिथी हुने तय भएपनि उनी सहभागी भएनन् ।
काभ्रे जिल्लामा पार्टी वटा कमिटीका हरेक अधिवेशनमा प्रमुख अतिथी भएर आउने जिल्ला इञ्चार्ज रहेका पोलिट्व्युरो सदस्य गोकुल बास्कोटा कार्यक्रममै देखिएनन् ।
केन्द्र पूर्वराष्ट्रपति एवं पूर्वउपाध्यक्ष भण्डारीलाई पुन: राजनीतिमा सक्रिय हुन रोक लगाउने निर्णय भएपनि जिल्लामा विभाजित देखिएको छ ।
जिल्ला इन्चार्ज रहेका एमाले पोलिट्व्युरो सदस्य गोकुलप्रसाद बास्कोटा, जिल्ला अध्यक्ष राजन भुर्तेल लगायतका नेता पूर्वराष्ट्रपति भण्डारीको पक्षमा खुलेका छन् भने केन्द्रीय सदस्य रेशम लामा, जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्याशी रहेका बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा लगायतका नेताहरू प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























