काभ्रे– समाजको अन्धविश्वास र कुरितीलाई तोड्दै, बाबुका किरियामा बसेका छोरीहरुलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) काभ्रेका महिलाहरूले पनौती –१ रयालेमा भेटघाट गरेका छन् ।
बुधबार उनीहरूको कार्यलाई समर्थन गर्दै भेटघाट, संवेदना र ऐक्यबद्धता जनाए । भेटघाटका लागि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य होमकुमारी तामाङ, अनेमसघ (क्रान्तिकारी) का वागमती प्रदेश कमिटी कोषाध्य सिर्जना थिङ, अनेमसघ (क्रान्तिकारी) का जिल्ला संयोजक मनिता थिङ, नेकपा (माओवादी केन्द्र)का पनौती नगर इन्चार्ज होमबहादुर खुलाल, अध्यक्ष हस्तबहादुर तामाङ, अनेमसघ (क्रान्तिकारी)की वागमती प्रदेश कमिटी सदस्य उषा अर्याल, बेथानचोक गाउँपालिकाका जननिर्वाचित उपाध्यक्ष तारा राना, नेकपा (माओवादी केन्द्र) तेमाल उपत्यका समन्वय समितिका कोषाध्यक्ष जोशिला तामाङलगायतका नेता कार्यकर्ताहरु पुगेका थिए ।
स्व. हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा आइतबार निधन भएको थियो । छोरा नभएका र छोरीहरुमात्रै रहेका सापकोटालाई दागवत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चाका बीच स्व. हरिप्रसाद सापकोटाका तीन छोरीहरूले (बिमला, निर्मला र राधिका) समाजको चेतावनीलाई बेवास्ता गर्दै बाबुलाई दागबत्ती दिए र किरियामा बसे ।
यो कार्यले हजारौँ छोरीहरूका लागि उदाहरण बन्ने बनेपा नगरपालिकाकी उपप्रमुखसमेत रहेकी बिमला सापकोटाले बताइन्। आफुहरु बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधान विपरितको काम नगर्न चेतावनीसमेत दिएकी छन् । आफूहरुले गरेको यो कार्यले हजारौं छोरीहरुमाथि न्याय हुने बिमलाले उल्लेख गरेकी छन् ।
समाजमा जरा गाडेर बसेका अन्धविश्वास र लैंगिक भेदभावजन्य कुरितीविरुद्धको एक बलियो उदाहरण देखाएको छ । यो प्रकारको घटना लैंगिक समानता, महिला अधिकार र सामाजिक सुधारको आन्दोलनमा एउटा सशक्त प्रेरणा हो, जसले भविष्यमा यस्ता अन्धविश्वास र भेदभावपूर्ण परम्परालाई चुनौती दिने सम्भावना बढाउँछ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























