धुलिखेल— काभ्रेको पाँचखाल नगरपालिका–८, होक्सेमा स्थापना गर्न लागिएको अस्फाल्ट ब्याच मिक्स प्लान्टबारे चर्किएको विवादलाई सम्बोधन गर्दै निर्माण कम्पनी वन्दन भगवती निर्माण सेवा प्रालिले वातावरणीय असर नहुने दाबी गरेको छ।
धुलिखेलमा आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक रामजी पन्त ‘मुकेश’ले उक्त प्लान्ट स्विस प्रविधिमा आधारित युरोपेली मापदण्डअनुसार निर्माण भएको र वातावरणमैत्री हुने बताए। उनले प्रयोग गर्न लागिएको मेसिन विश्वमै १५० वर्षअघि स्थापित अम्मान कम्पनीको भएको र धुवा तथा धुलो नियन्त्रणका लागि स्वचालित कम्प्युटराइज प्रणाली जडान गरिएको जानकारी दिए।
‘धुवा होइन, बाफ मात्र निस्कन्छ’
पन्तका अनुसार, मेसिनभित्र २५४ वर्गमिटर क्षेत्रफलका १६८ वटा फिल्टरबाट प्रशोधन गरी धुवा बाहिर निस्कन नदिने व्यवस्था गरिएको छ। “यो प्लान्टले पुरानो शैलीको जस्तो बिटुमिन र गिट्टी पोल्दा हुने प्रदूषण गर्दैन। मेसिनभित्रै धुलो हिलोको रूपमा निस्कन्छ, जुन पुनः प्रयोग गर्न सकिन्छ,” उनले भने।
उक्त प्रविधिमा ब्लु स्मोक ट्रीटमेन्ट सिस्टम, भिजुअल रिडक्सन डिभाइस, एडभान्स फिल्ट्रेसन सिस्टमजस्ता अत्याधुनिक प्रविधि प्रयोग गरिएको दाबी उनले गरे।
गुणस्तरीय र छिटो सडक निर्माणको लक्ष्य
कम्पनीका अनुसार, सूर्यविनायक–साँगा–धुलिखेल सडक तथा आगामी धुलिखेल–खावा सडक निर्माणलाई लक्षित गर्दै प्लान्ट स्थापना गर्न लागिएको हो। यसले छोटो समयमा गुणस्तरीय पिच सडक निर्माणमा सहयोग पुर्याउने र करिब १०० जनालाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिने दाबी कम्पनीको छ।
३० रोपनी जग्गामा स्थापना हुने प्लान्ट दुई प्रमुख सडक आयोजना सम्पन्न भएपछि अन्यत्र सारिनेछ। यस क्रममा पुरातात्विक संरचना, वन–जंगल वा अन्य पूर्वाधारमा असर नपर्ने कम्पनीको दाबी छ।
‘भ्रम र प्रचारवाजीमा सत्यता छैन’
प्लान्टका विषयमा स्थानीय तहदेखि संघीय संसदसम्म उठेका विरोध र प्रश्नबारे पन्तले “यो विषयमा गरिएका अनर्गल प्रचारवाजी र भ्रमपूर्ण जानकारीमा कुनै सत्यता छैन” भन्दै आपत्ति जनाए । उनका अनुसार, यसअघि पनि यस्तै प्रविधिका प्लान्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर, बालाजु, भैसेपाटी, सूर्यविनायक र बनेपामा सञ्चालनमा छन्।
स्थानीय बासिन्दा र सरोकारवालालाई परियोजनाको उद्देश्य र कार्यप्रणालीबारे बुझाउन सार्वजनिक सुनुवाइ आयोजना गरिएको तर सफल हुन नसकेको पन्तको गुनासो छ। उनले थप जानकारी र संवादका माध्यमबाट प्लान्टबारे रहेको भ्रम हटाउन आफूहरू प्रतिबद्ध रहेको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























