बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा अवस्थित लिन इन्टरनेशनल बोर्डिङ स्कुलले आज विद्यालय प्राङ्गणमा भव्य कार्यक्रमका साथ ३७० जना कन्या तथा कुमारको पूजा सम्पन्न गरेको छ।

विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ३ सम्मका करिब ३७० जना बालबालिकालाई समावेश गरेर गरिएको यो विशेष पूजा कार्यक्रम श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको हो। विद्यालयका प्रबन्ध निर्देशक कृष्ण कुमार भण्डारी (शिशिर) का अनुसार बनेपामा करिब १२० वर्षअघि देखि प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको दिन कन्या तथा कुमार पूजाको परम्परा चलिआएको छ, र सोही सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले विद्यालयले बालबालिकाको प्रत्यक्ष सहभागितासहित आयोजना गरेको हो।

कार्यक्रममा विद्यालय सञ्चालक समिति, प्रिन्सिपल, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। पूजाको क्रममा बालबालिकालाई धार्मिक परम्परा अनुसारका प्रसाद तथा खानेकुरा वितरण गर्नुका साथै विभिन्न शैक्षिक सामग्रीहरू समेत प्रदान गरिएको थियो।

विद्यालयले यस्तो कार्यक्रममार्फत बालबालिकामा पर्व, संस्कृति र सामाजिक परम्पराप्रति ज्ञान, अनुभव र सम्मानको भावना विकसित गर्ने लक्ष्य राखेको जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।