धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका दुई वडामा करिब पाँच दशकदेखि जारी लालपुर्जाको समस्या अब समाधान हुने भएको छ ।
वि.सं. २०३२ यता तत्कालीन भुम्लु र फलाँटे गाविस (हालका वडा नं ७ र ८) का बासिन्दा लालपुर्जाको पखाइमा रहेका थिए । लामो प्रतिक्षा पछि जिल्लास्थित नापी कार्यालयले भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा लालपुर्जा वितरण कार्यको थालनी गर्न लागेको हो ।
कार्यालयका प्रमुख अशोककुमार भुसालका अनुसार वडा नं ७ मा करिब ३०० र वडा नं ८ मा करिब ६०० गरी कुल ९०० लालपुर्जा तयार गर्नुपर्ने देखिएको छ । हालसम्म ४५० लालपुर्जा तयार भइसकेको र बाँकी पनि छानबिनको क्रममा रहेको जानकारी उनले दिए ।
यसअघि वि.सं. २०७१ जेठ २५ गतेदेखि नापी टोली गाउँमा खटिए पनि प्रक्रिया लामो समयसम्म अल्झिएर ११ वर्षपछि मात्रै स्थानीयले आफ्नो जग्गाको लालपुर्जा पाउने अवस्था बनेको हो ।
उक्त समस्या साविकको पिपलटार गाविस विभाजन भएपछि उत्पन्न भएको थियो । पिपलटारको ‘टार’ नामक खेतीयोग्य जमिन भुम्लुटार र फलाँटे दुवै गाविसमा पर्न गएपछि कुन गाविसको अधिकार हुने भन्ने विवाद चर्किएको थियो । वि.सं. २०३२ र २०३५ मा नापी टोली खटिए पनि विवादका कारण काम अधुरै छाडिएको थियो ।
लालपुर्जा वितरणपछि जग्गासम्बन्धी सबै स्रेस्ता मालपोत कार्यालय, नक्साललगायत कागजात नापी कार्यालयमा ल्याई नयाँ प्रक्रिया सुरु हुने कार्यालयले जनाएको छ । तर केही जग्गाधनीले आवश्यक कागजात नल्याउँदा अझै समस्या देखिएको प्रमुख भुसालले बताए ।
विगतमा बसाइँसराइ, तिरोतिरेर गरिएको बिक्री र लगत नठीक हुँदा समस्या झन् जटिल बनेको थियो । पटकपटक समस्या समाधान समिति गठन र सरकारी निरीक्षण भए पनि यसअघि ठोस परिणाम ननिक्लिएको स्थानीयले गुनासो गर्दै आएका थिए ।
गत वर्ष मङ्सिरमा गाउँपालिकाले छुट निवेदन माग गरेपछि करिब एक हजारभन्दा बढी निवेदन परेको छ । सोही आधारमा पुनः छानबिन भई अहिलेको चरणमा करिब एक हजार परिवार प्रभावित रहेको नापी कार्यालयले जनाएको छ ।
भूमि व्यवस्था मन्त्री अधिकारीले गत कात्तिकमा स्थलगत निरीक्षण गरी यही वर्षभित्र लालपुर्जा वितरण कार्य सम्पन्न गर्ने निर्देशन दिएपछि कार्य अगाडि बढेको हो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























