मलेसिया – मलेसियामा विदेशी श्रमिकको नयाँ भर्ना मे महिनादेखि स्थगित गरेपछि, सेलाङ्गोर राज्यस्थित आप्रवासन विभागले देशभित्र रहेका श्रमिकको संख्यामा कडा निगरानी गर्न थालेको छ।
सेलाङ्गोर आप्रवासन विभागका निर्देशक खैरुल अमिनुस कामारुदिनका अनुसार अहिले विभागले विदेशी श्रमिकले गर्ने कानुनी उल्लंघन र कार्यअनुमति (वर्क परमिट)सम्बन्धी अनियमिततामा ध्यान केन्द्रित गरिरहेको छ।
“हालसम्म नयाँ श्रमिक प्रवेश छैन, भित्र भएका श्रमिक पर्याप्त छन्। त्यसैले हामी विभिन्न अपरेशन, सूचना र जनसमुदायबाट प्राप्त जानकारीको आधारमा निगरानी गर्दैछौं,” उनले मेरु औद्योगिक क्षेत्रमा भएको ‘अपरेशन माहिर’ पछि पत्रकार सम्मेलनमा बताए।
उक्त अपरेशमा ४३ जना विदेशी नागरिक पक्राउ परेका छन्, जसमा ३२ जनाले नियमित काम गरिरहेको प्रमाणित गर्ने टाइम कार्ड पाइएको छ।
पक्राउ परेका श्रमिकहरूमध्ये कोहीले वैध कागजात नभएको, कोहीले पासपोर्टमा प्रवेश र वर्क पासको स्टाम्प नभएको, अनि कोहीले निर्माण क्षेत्रमा काम गर्ने अनुमति लिएर अन्य कारखानामा कार्यरत भएको पाइएको छ।
खैरुलले आप्रवासन विभाग अन्य सरकारी निकाय तथा सम्बन्धित देशका दूतावाससँग कागजात प्रमाणीकरण तथा श्रमिक व्यवस्थापनमा सहकार्य गर्न तयार रहेको बताए।
जनसमुदायलाई उनले कानुन उल्लंघन गर्ने विदेशी श्रमिकबारे सूचना दिन आग्रह गर्दै यस्ता अपरेसन अझ सशक्त बनाइने जानकारी गराएका छन्।
#source the sun 19.08.2025