मलेसिया- १९ अगस्ट २०२५,नेपालका मलेसियास्थित राजदूत डा. नेत्र प्रसाद तिम्सिनाले फिलिपिन्सका राष्ट्रपति महामहिम फर्डिनान्ड आर. मार्कोस जुनियर समक्ष गैरआवासीय राजदूतको रुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
समारोह फिलिपिन्सको मालाकानाङ्ग दरबार, मनीलामा सम्पन्न भएको हो। कार्यक्रममा राजदूत तिम्सिनासँगै उनकी पत्नी मीरा भट्टराई, उपप्रमुख मुदिता बज्राचार्य लगायत नेपाली प्रतिनिधिहरू सहभागी थिए।
राजदूत तिम्सिनाले नेपाल सरकार र राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राष्ट्रपति मार्कोसलाई शुभकामना, सुस्वास्थ्य र समृद्धिको कामना गरेका थिए। साथै, कृषि, पर्यटन, लगानी तथा विपद् व्यवस्थापन लगायत क्षेत्रहरूमा सहकार्यको सम्भावना रहेको जानकारी गराएका थिए।

सो अवसरमा उनले फिलिपिन्सका राष्ट्रिय नायक डा. जोस रिजालको स्मृतिमा रिजाल स्मारकमा माल्यार्पण गरेका थिए। उनीसहित अष्ट्रेलिया, इजरायल र माल्दिभ्सका राजदूतहरूले पनि सोही दिन आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।
नेपाल र फिलिपिन्सबीच सन् १९६० फेब्रुअरी १२ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो।
—
























