क्वालालम्पुर, मलेसिया -मलेसियामा निधन भएका इलाम फाक्फोकथुम गाउँपालिका–४ का डम्बर कुमार मगरको अन्तिम दाहसंस्कार मलेसियामै गरिएको छ।
जनउद्वार केन्द्र मलेसियाले मंगलबार बिहान परम्परागत विधिअनुसार दाहसंस्कार गरेको हो। मृतक मगर विगत १३ वर्षदेखि मलेसियामा अवैधानिक हैसियतमा कार्यरत थिए।
शव नेपाल पठाउन लाग्ने खर्च परिवारले बेहोर्न नसक्ने भन्दै आफन्तहरूले मलेसियामै अन्तिम संस्कार गरिदिन आग्रह गरेका थिए।
परिवारका अनुसार मगर उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए। उपचारका क्रममा पेनाङ अस्पतालमा गत जुलाई ३१ मा उनको मृत्यु भएको थियो।
उनका श्रीमती, दुई छोरी र एक छोरा छन्। जनउद्वार केन्द्रका अध्यक्ष केसु थापाले भोलि नै मृतकको अस्तु समुद्रमा विसर्जन गरिने जानकारी दिए।
जनउद्वार केन्द्र मलेसिया पहिलोपटक दर्ता भएको नेपाली वैधानिक सामाजिक संस्था हो। यसले मलेसियामा रहेका नेपाली कामदारलाई उद्धार, सहयोग तथा मृतकहरूको अन्तिम संस्कारमा समेत सहयोग गर्दै आएको छ।
























