काठमाडौं । तामाङ पत्रकार संघ भक्तपुर जिल्ला शाखाद्वारा आयोजना गरिएको दुईदिने निःशुल्क पत्रकारिता तालिम मंगलबार संविधान सभा सदस्य तथा पूर्वमन्त्री माननीय सूर्यमान दोङ (लालध्वज) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

३१औं तामाङ प्रशारण दिवसको अवसरमा आयोजित उक्त तालिममा समाचार लेखन, फोटोग्राफी, भिडियोग्राफी, भिडियो सम्पादन, सकारात्मक सोच र व्यक्तित्व विकासजस्ता विषयहरू समेटिएका थिए। बौद्ध पिपलबोट, नागेश्वर गल्लीस्थित सेकुवा जक्सनमा सम्पन्न तालिममा २७ जना सहभागी रहेका थिए।

तालिमका प्रशिक्षकहरूमा संघका पूर्वअध्यक्ष विष्णु तामाङ (समाचार लेखन), भक्तपुर शाखाका उपाध्यक्ष गणेश बज्र लामा (फोटोग्राफी), बिक्रम लामा मोक्तान (भिडियोग्राफी तथा भिडियो सम्पादन) र उत्प्रेरक वक्ता विकास देव योन्जन (सकारात्मक सोच र व्यक्तित्व विकास) रहेका थिए। समापन कार्यक्रममा  उत्प्रेक व्यक्त विकाश देव योन्जनलाई विशेष सम्मान गरिएको थियो भने सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

तालिमको उद्घाटन सोमबार संविधान सभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर लामाले गरेका थिए। उद्घाटनकै अवसरमा उनले संघलाई रु. ५०,५५५ सहयोगसमेत प्रदान गरेका थिए। उनले पत्रकारितामा दक्ष जनशक्ति उत्पादन गरी समुदायको भाषा, धर्म, कला, संस्कृति र पहिचान जोगाउन यस्ता तालिमले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।

समापन समारोहमा विशिष्ट अतिथि ए.आई.जी टेक तामाङ रहेका थिए भने विभिन्न संघ–संस्था, कलाकार र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव र नेपाल राष्ट्रिय तामाङ घेदुङका महासचिवले तामाङ जातिको अन्तिम राजा ह्रेन्जेन दोर्जे र डम्फु सम्बन्धी हालै फैलाइएका भ्रामक प्रचारप्रति आपत्ति जनाउँदै कडा भर्त्सना गरेका थिए।

सो अवसरमा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तन, चर्चित गायक तथा संगीतकार विश्व दोङ, संगीतकार सञ्जिव वाईवा, तामाङ निर्देशक संघका अध्यक्ष केवि घिसिङ ,उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ, संघीय कोषाध्यक्ष हिरामान बल, संघीय सदस्य तथा भक्तपुर शाखाका प्रमुख सल्लाहकार सुदिन लामा दोङ, तामाङ ह्युलठिमका अध्यक्ष बुद्धराज स्याङ्तान, नेपाल तामाङ मौलिक ह्वाईला न्हानका अध्यक्ष सन्जिव योन्जन (पोङ्दिला च्याङ्बा), नेपाल तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङलगायतका अतिथि र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।