क्वालालम्पुर — मलेसियाली सरकारले कृषी, बगैँचा, खानीसहित तीन मुख्य क्षेत्र तथा सेवा क्षेत्रका १० उप-क्षेत्रहरूमा विदेशी श्रमिक भर्ना गर्न कोटा आवेदन पुनः खुला गरेको छ। गृहमन्त्री दातुक सेरी सैफुद्दिन नासुतीओन इस्माइलका अनुसार आवेदनहरू अब २०२५ डिसेम्बर ३१ सम्म दिन सकिनेछ।
गृहमन्त्री सैफुद्दिनले भने, “कृषि, बगैँचा र खानी क्षेत्रमा विदेशी श्रमिक भर्ना सबै उप-क्षेत्रका लागि खुला गरिएको छ।” सेवा क्षेत्रमा भने थोक/खुद्रा व्यापार, गोदाम, सुरक्षा गार्ड, फलाम तथा फोहोरजन्य वस्तु, रेस्टुरेन्ट, लन्ड्री, कार्गो र भवन सरसफाइ लगायत उप-क्षेत्रमा मात्रै अनुमति दिइनेछ।
निर्माण क्षेत्रमा भने केवल सरकारी परियोजनासँग सम्बन्धित उप-क्षेत्रहरूमा मात्रै श्रमिक ल्याउन पाइनेछ भने उत्पादन (manufacturing) क्षेत्रमा मलेसियन इन्भेस्टमेन्ट डेभलपमेन्ट अथोरिटी (MIDA) अन्तर्गत नयाँ लगानीमा केन्द्रित हुने बताइएको छ।
यो जानकारी गृहमन्त्री सैफुद्दिनले मानव संशाधन मन्त्री स्टीवन सिमसँगको १४औं संयुक्त समितिको बैठकपछि दिएका हुन्।
यसपटकको आवेदन प्रक्रिया विगतको जस्तो स्वतन्त्र रूपमा एजेन्ट वा रोजगारदाताले दिन नपाउने बताइएको छ। अब सम्बन्धित क्षेत्रका अधिकृत निकायहरू मार्फत मात्रै आवेदन दिन पाइनेछ।
विदेशी श्रमिक व्यवस्थापन सम्बन्धी नीतिमा २४,६७,७५६ को पुरानो कोटा २०२५ को अन्त्यसम्म कायम रहनेछ भने त्यसपछि १३औं मलेसिया योजनाअनुसार १०% को नयाँ सीमा लागू गरिनेछ।
हाल मलेसियामा विदेशी श्रमिकको अनुपात १५% रहेको छ, जुन २०२६ को पहिलो वा दोस्रो त्रैमासिकमा घटाएर १०% पुर्याइने लक्ष्य छ।
#Source: The Edge Malaysia