क्वालालम्पुर (मलेसिया) – गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाद्वारा आयोजना हुनगइरहेको हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह शनिबार बिहान क्वालालम्पुर आइपुग्नुभएको छ।

क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई स्वागत गर्न नेपाली राजदूतावासका महामहिम राजदूत डा. नेत्रप्रसाद तिमल्सिनाको प्रतिनिधि, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतो, महासचिव विष्णु बराल, सचिव उमेश महतो, मलेसियामा कार्यरत पत्रकार तथा विभिन्न दलका प्रतिनिधिहरूको टोली उपस्थित थियो।

मुख्यमन्त्री सिंहको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। सचिवालयका अनुसार, उहाँले मलेसियामा कार्यरत हजारौं नेपाली कामदारहरूको वास्तविक अवस्था, समस्या र अनुभव प्रत्यक्ष सुन्ने, सरोकारवालासँग छलफल गर्ने र आवश्यक पहलका लागि पहल गर्ने कार्यक्रम राखिएको छ।मधेस प्रदेश सरकारले यस भ्रमणलाई वैदेशिक रोजगारमा रहेका नेपालीहरूको हकहितमा कार्य गर्न सकिने अवसरका रूपमा लिएको छ।

नेपाली समुदायको प्रमुख सांस्कृतिक पर्व  हरितालिका तिजको अवसरमा आज मलेसियाको क्वालालम्पुर स्थित Hotel Grand Continental, Kuala Lumpur मा आयोजना हुन गइरहेको कार्यक्रममा गायिका अञ्जिला रेश्मीको प्रस्तुति मुख्य आकर्षणको रूपमा रहनेछ। साथै, नायिका झरना रिसाल, नायिका/मोडल मिसेल घिमिरे, डान्सर वर्ष राई, र मोडल सामा देवान सहित स्थानीय का कलाकारहरूले सांगीतिक, नृत्य प्रस्तुतिहरू दिनेछ।

साँझ ६:०० बजेबाट १०:०० बजेसम्म सञ्चालन हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाली परिकार, गीत–सङ्गीत र पारम्परिक नृत्यको समावेश रहनेछ। तिज पर्व महिलाहरूको चेलीबेटी र सासु–बुहारीको आत्मीयता, सौन्दर्य र श्रद्धाको प्रतीक मानिन्छ। विदेशमा रहेका नेपाली महिलाहरूबीच यस पर्वले सामूहिकता र संस्कार संस्कृतिको जगेर्ना गर्न सघाउने विश्वास गरिएको छ।

एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोले भने,“हरितालिका तीज २०८२ विशेष कार्यक्रमले यहाँ कार्यरत नेपाली चेलीबेटीलाई माइतीघरको सम्झना दिलाउनेछ। साथै, नेपाली समुदायबीच सामाजिक सद्भाव र मेलमिलापको नयाँ वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।