काठमाडौं- नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले सत्ता गठबन्धन समर्थित उम्मेदवार कुलबहादुर गुरुङलाई ५४ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी निकट पर्यटन व्यवसायीहरूको समर्थन पाएका शेर्पाले ३४२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी गुरुङले २८८ मत पाए। गुरुङलाई नेपाली कांग्रेस र नेकपा (एमाले) निकट व्यवसायीहरूले समर्थन गरेका थिए।

शेर्पाको जितसँगै उनको प्यानलले संघको अन्य महत्वपूर्ण पदहरूमा पनि वर्चस्व कायम गरेको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पौडेल ३४५ मतसहित, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा ३५९ मतसहित, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित, महासचिवमा राजेन्द्र लामा ३१८ मतसहित र सचिवमा चन्दन थापा ३५८ मतसहित विजयी भए।

यसैगरी, कोषाध्यक्ष पदमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान ३०४ मत पाए। बराबरी मत आएपछि गोलाप्रथाबाट निर्णय गर्ने अवस्था भए पनि अन्ततः दुवै उम्मेदवारले कार्यकाल आधा–आधा बाँड्ने सहमति गरेका छन्, जसलाई निर्वाचन समितिले मान्यता दिएको छ।

संघको सदस्यमा मुलाल गुरुङ, थुप्देन शेर्पा, देण्डी शेर्पा, विक्रम कार्की, निशा भोटे, केदार न्यौपाने, रिञ्जे शेर्पा, देवेन्द्र डंगोल, गोकुल थापा, दिकी शेर्पा र माधवकुमार धमला निर्वाचित भएका छन्।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।