मिलन दोङ तामाङ ✍️
क्वालालम्पुर, मलेसिया नेपाली कांग्रेसका भातृ संगठन जनसम्पर्क समिति मलेसियाले आफ्नो नियमित मासिक बैठक सम्पन्न गरेको छ। बैठकको क्रममा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेका केही नेपालीहरू नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्।
समितिका अध्यक्ष चोला कन्या पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीको नीति, सिद्धान्त र जनसम्पर्क समितिको भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो साथै नवप्रवेशीहरूलाई खादा लगाई पार्टीमा स्वागत गरियो।
परदेशी भूमिमा नेपाली कांग्रेसको विचार, नीति र अभियानलाई सशक्त बनाउन सक्रिय नेपाली जनसम्पर्क समिति मलेसियाले आज विशेष बैठक सम्पन्न गरेको थियो।बैठकमा आगामी अधिवेशनको तयारी, संगठनको आन्तरिक व्यवस्थापन, सदस्यता नवीकरण अभियान, साथै सामाजिक र राजनीतिक गतिविधिमा नेपालीहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल गरिएको महामन्त्री हरि कोइरालाले जानकारी दिए।
सभापति पंगेनीले बैठकको अध्यक्षता गर्दै भने,“जनसम्पर्क समिति केवल परदेशमा संगठन मात्र होइन, यो नेपाली कांग्रेसको वैचारिक दूत हो। हामी विदेशको कर्मभूमिमा कांग्रेसको मूल्यमान्यता, लोकतान्त्रिक सोच र जनअपेक्षाको प्रतिनिधित्व गरिरहेका छौं। संगठन अझ सशक्त र सुसंगठित हुनुपर्छ,” उनले भने।
बैठकमा उपसभापति, महासचिव, कोषाध्यक्ष, क्षेत्रीय संयोजक, सल्लाहकार तथा क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै, अन्य दल परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेहरूको संख्यापनि उल्लेखनीय रहेको प्रवक्ता सरोज दाहालले जानकारी दिए।
बैठकले आगामी दिनमा विचार–विमर्श कार्यक्रम, कार्यकर्ता अभिमुखीकरण, नेपालीसँग प्रत्यक्ष संवाद तथा सञ्चार प्रवाहलाई थप व्यवस्थित बनाउने कार्ययोजना समेत तयार पारेको समितिले जनाएको छ।