मिलन दोङ तामाङ

क्वालालम्पुर, अगस्ट २५ – मलेसियाको सामाजिक सुरक्षा संस्था (PERKESO) ले मलेसियामा कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै ‘Work With Ease, Feel At Peace With PERKESO’ शीर्षकमा एक दिवसीय निःशुल्क सेमिनार सम्पन्न गरेको छ।मलेसियाको मानव संशाधन मन्त्रालयको समन्वय, नेपाली राजदूतावासको सहकार्य र Merchantrade को साथमा आयोजना गरिएको यो कार्यक्रम अगस्ट २४ तारिख आइतबारका दिन Wisma PERKESO, Jalan Tun Razak, Kuala Lumpur मा सम्पन्न भएको हो।

कार्यक्रममा मलेसियाको सामाजिक सुरक्षा सङ्गठन (PERKESO) ले प्रवासी नेपाली श्रमिकका लागि मलेसियामा काम गर्दा समाजिक सुरक्षा सम्बन्धमा उपलव्ध हुन सक्ने सेवा-सुविधाकावारेमा जनचेतनाका लागि  नेपाली श्रमिक हकहित सम्बन्धमा काम गर्ने संस्थाका प्रतिनिधि र श्रमिक प्रतिनिधिहरु, नेपाली दुतावास क्वालालम्पुरका कर्मचारी, मलेसिया सरकार सामाजिक सुरक्षा संगठनका पदाधिकारी, नेपालको सामाजिक सुरक्षा कोषका कार्यकरी निर्देशक र वरिष्ठ सहायक निर्देशक गरि करिव १०० जना सहभागीहरु रहेको थियो।

कार्यक्रममा मलेसियाको सामाजिक सुरक्षा संगठनका उप कार्याकारी निर्देशक एड्मण्ड चेओङ्ग र अन्तराष्ट्रिय  विभागका फाह्रा आइदाले प्रवासी नेपाली श्रमिकहरुलाई उपलब्ध हुने सेवा-सुविधाबारे जानकारी गराउनु भयो। सहभागीहरुले राखेका जिज्ञासाको पनि सम्बोधन गर्नु भयो। सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्री कविराज अधिकारी र बरिष्ठ सहायक निर्देशक श्री प्रेम बहादुरले प्रवासी नेपाली श्रमिकहरुको सेवासुविधाको लागि सामाजिक सुरक्षा कोषले गरेका व्यवस्थावारे जानकारी गराउनु भयो। उपस्थित सहभागीहरुले  नेपालवाट बाहिर गए पछि सामाजिक  सुरक्षा कोषमा रकम योगदान गर्दा आइपर्ने समस्या, वैदेशिक रोजगारमा जाने श्रमिकका लागि सेवासुविधा दिन सामाजिक सुरक्षा कोषले गरेको व्यवस्था लगायतका बारेमा जिज्ञासा राखेका थिए। सामाजिक सुरक्षा संगठन मलेसियाका (PERKESO) पदाधिकारीले अगामी दिनहरुमा नेपाली श्रमिकहरुको सामाजिक सुरक्षामा पहुँच विस्तार गर्ने विषयमा छ्लफल र चेतना मुलक कार्यक्रम नेपाली दूतावास र मलेसियास्थित नेपाली समुदायको सहकार्यमा गर्ने जानकारी गराए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।