मिलन दोङ तामाङ ✍️ 

क्वालालम्पुर, मलेसिया – गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाको अन्तत पुनः नवौं अधिवेशन तथा हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम आगामी ३१ अगस्ट २०२५ (आइतबार)का दिन Grand Continental Hotel, Kuala Lumpur मा आयोजना हुने भएको छ।

 

मलेसियामा दुई कित्तामा विभाजन भएको गैरआवासीय नेपाली संघ मलेसियाले छुट्टाछुट्टै आ-आफ्नै पक्षधर र समर्थक समाहित गर्दै अधिवेशन गर्ने भएका हुन् ।गत जुलाई २० तारिकमा संस्थालाई सक्षम, सबल र एकीकृत बनाउन ‘एकताको महाधिवेशन’ गर्ने सहमति बनेको थियो । त्यही निर्णयअनुसार बहुमत पदाधिकारीहरूको उपस्थितिमा भएको छलफलले राकेशप्रसाद महतोलाई संयोजक तोकेर भदौ १४ गते अधिवेशन गर्ने निर्णय गरिएको थियो । तर सो सहमति वैधानिक नभएको दाबी गर्दै अर्को पक्षले छुट्टै समिति बनाएपछि विवाद चुलिएको थियो ।संयोजक इन्द्र नारायण लिम्बूले पत्रकारहरूसँगको छलफलमा भने, ‘संस्थाभित्र देखिएको विभाजन र गुटबन्दी दीर्घकालीन रूपमा हानिकारक हुन्छ। व्यक्तिगत विचारमा संस्था चल्नु हुँदैन, त्यसैले हामी सबैलाई समेटेर, समान अवसर दिएर नेतृत्व चयन गर्ने तयारीमा जुटिरहेका छौं ।’ उनले आगामी अधिवेशनलाई भव्य बनाउन प्रमुख निर्वाचन आयुक्तमा बिष्णु प्रसाद पौडेल साथै निर्वाचन आयुक्तमा मुकेश गुरागाई र बिपिन राई तोकिसकिएको जानकारी दिए ।

 

यसैबीच, गत जुलाई २७ मा राकेश महतोको समूहले भने दुई वटा क्षेत्रीय समितिको अधिवेशन गरिसकेको दाबी गर्दै आफूहरू नै वैधानिक भएको घोषणा गरेका थिए । सो अधिवेशनबाट राकेशप्रसाद महतोलाई निर्विरोध अध्यक्ष चयन गरिसकेको बताएको छ। पूर्वमहासचिव टिकाराम अधिकारीले भने, ‘हाम्रो साझा संगठनलाई गुटगत स्वार्थले कमजोर पार्नु हुँदैन । सहमति, सामूहिकता र संस्थागत एकतामार्फत मात्र एनआरएनए मलेसियालाई सबल बनाउन सकिन्छ ।’ उनले जुलाई २० मा भएको सहमति कार्यान्वयन गर्ने प्रयास अझै सम्भव रहेको बताए ।

 

कार्यक्रमको प्रमुख अतिथिका रूपमा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री माननिय डा. प्रकाशशरण महत रहनेछन्। सांस्कृतिक प्रस्तुतिमा नेपालका ख्यातिप्राप्त कलाकारहरु नेपाल कै पहिलो नेपाल आईडल बुद्ध लामा चर्चित दोहोरी गायिका शोभा त्रिपाठी लगायत स्थानीय कलाकारहरु अनिता आले मगर, कासी गुरुङ, किषन गुरुङ, चन्द्र घिसिङ तथा उषा ओझाको विशेष प्रस्तुति रहनेछ।

कार्यक्रमको उद्देश्य एनआरएन मलेसियाको संगठनात्मक संरचना सुदृढ गर्दै प्रवासी नेपालीबीच एकता, सांस्कृतिक जगेर्ना र सद्भाव कायम गर्नु रहेको आयोजकले जनाएको छ। साथै, तीज पर्वको सांस्कृतिक महत्व उजागर गर्दै मनोरञ्जनात्मक कार्यक्रम पनि प्रस्तुत गरिनेछ।कार्यक्रममा एनआरएन मलेसियाका पदाधिकारी, सामाजिक अगुवा, नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।