धुलिखेल– काठमाडौं विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा इन्जिनियरिङ विभागले कम्प्युटर नवप्रवर्तन सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन २०२५ सम्पन्न गरेको छ। विभागले काठमाडौं विश्वविद्यालय कम्प्युटर क्लबसँग सहकार्यमा आयोजना गरेको सम्मेलनले विद्यार्थी, अनुसन्धानकर्ता र शिक्षाविद्हरूलाई प्रविधिको भविष्यबारे छलफल गर्ने गतिशील राष्ट्रिय मञ्च प्रदान गरेको आयोजकले जानकारी दिए।

एक दिने कार्यक्रममा एआई–संचालित समाधान, साइबर सुरक्षा, डिजिटल मानसिक स्वास्थ्य, मेसिन लर्निङ र नेपालमा सार्वजनिक सेवाहरूको मूल्याङ्कनजस्ता २३ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो। सहभागीहरूले सम्मेलनले स्वदेशी अनुसन्धान संस्कृतिलाई प्रवद्र्धन गर्दै भविष्यको प्रविधि विकासमा योगदान गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रमको उद्घाटन इन्जिनियरिङ स्कूलका डीन प्रा.डा. मनीष पोखरेलले गरेका थिए। त्यस्तै, प्रा.डा. सुदन झाले “रणनीतिक एआई : नेपालको सुरक्षित, सार्वभौम र दिगो डिजिटल अर्थतन्त्र” विषयक कार्यपत्र प्रस्तुत गरे भने चीनस्थित एनयूएएका प्रा.डा. विकास नकर्मीले “बियोन्ड इन्टरफेरेन्स–एआई २ एक्सपीआर : एआई–सक्षम हस्तक्षेप–लचिलोपन” विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए।

सम्मेलन अध्यक्ष प्रा.डा. बालकृष्ण बलले एनसीसीआईमार्फत अन्तरविषय संवाद प्रवद्र्धन गर्ने र युवा प्रतिभालाई अवसर दिने परिकल्पना गरिएको बताए। प्रकाशन अध्यक्षका रूपमा प्रा.डा. गजेन्द्र शर्मा र संयोजकका रूपमा विभाग प्रमुख डा. पंकजराज दवाडीले नेतृत्व गरेका थिए।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।