काठमाडौं । क्रान्तिकारी नेता तथा समाजसेवी मणिक लामाको निधन भएको छ। तामाङ चलचित्र क्षेत्रकी नायिका रञ्जिता लामाका पिता समेत रहेका उनको आज स्वयम्भूमा अन्तिम संस्कार हुँदैछ।

लामा विगत करिब दुई वर्षदेखि Interstitial Lung Disease (ILD) नामक फोक्सोको रोगबाट पीडित थिए। उपचारकै क्रममा २०८२ भाद्र १३ गते भारतको चेन्नाईस्थित ग्लेनइगल्स अस्पतालमा उनको निधन भएको हो। उपचारका लागि नेपाल, भारतदेखि जर्मनीसम्मका अस्पतालमा गरिएको प्रयास असफल भएको पारिवारिक स्रोतले जनाएको छ।

राजनीतिक जीवन २०३५ सालमा नेकपा चौमाबाट सुरु गरेका लामाले पञ्चायतविरोधी आन्दोलनदेखि प्रजातान्त्रिक संघर्षसम्म सक्रिय भूमिका खेलेका थिए। अखिल नेपाल जनवादी युवा लिग काभ्रे शाखाका संस्थापक अध्यक्ष बनेका उनी पटक–पटक जेल सजाय भोग्नुपरेको थियो। हालै एमसीसीविरुद्धको आन्दोलनमा समेत सहभागी भई एक महिना जेलजीवन व्यतित गरेका थिए।

उनले रसिया, जर्मनी, बेल्जियम, उत्तर कोरिया, ग्रीस, अमेरिका लगायत मुलुकसँग समाजवादी विचारधारामा आधारित अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको उल्लेख गरिन्छ। काभ्रेको कम्युनिष्ट आन्दोलनमा लामाको योगदानलाई स्थानीयले उच्च सम्मानका साथ स्मरण गरेका छन्।

नायिका रञ्जिता लामा नेपाली तामाङ चलचित्र र म्युजिक भिडियोमा सक्रिय छन्। साथै मम्स इन्टरनेशनल की अध्यक्षका रूपमा मिस तामाङ तथा मिस्टर तामाङ जस्ता कार्यक्रम सञ्चालन गर्दै आएकी छन्। पिता गुमाएको खबर सार्वजनिक भएपछि कलाकार, शुभेच्छुक र प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत गहिरो शोक प्रकट गर्दै उनलाई धैर्य धारण गर्न शुभकामना दिएका छन्।

स्व. लामाको पार्थिव शरीर शनिबार अपरान्ह १:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको थियो। उनको अन्तिम दाहसंस्कार आज बिहान ११:०० बजे स्वयम्भूस्थित बुद्ध धर्म सेवा संघ नजिकै बौद्ध परम्परा अनुसार सम्पन्न हुँदैछ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।