बनेपा- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० सेतोपाटी अगाडिको अरनिको राजमार्गमा सोमबार बेलुकी पकेटमार पक्राउ परेको छ ।

मण्डनदेउपुर नगरपालिका–७ गैराथोकका हर्कबहादुर तामाङ पनौतीबाट काठमाण्डौं जाँदै गरेको भाडाको बसमा सवार रहेका बेला, हाल नाम थर खुल्न आएका रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–७ का अर्जुन तामाङले ब्लेड प्रयोग गरी कोटको गोजी काटी रु. २४ हजार २ सय चोरी गरेका थिए ।

पीडितले गुहार मागेपछि आरोपी बसबाट भाग्ने क्रममा प्रहरीको टोलीले तत्काल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । पक्राउ परेका अर्जुन तामाङ (२८) को शरीर खानतलासी गर्दा रु. २४,२०० नगद, सिमकार्ड प्रयोग नभएको वानप्लस मोबाइल १ थान र पहेँलो रंगको अफ अवस्थामा रहेको किप्याड मोबाइल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ५ दिनको म्याद थप गरी कारबाही अघि बढाइरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।