काठमाडौं । नेपाल तामाङ कलाकार संघले आफ्नो १८औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशन–२०८२ आगामी भदौ २१ गते शनिबार भव्यतापूर्वक आयोजना गर्ने भएको छ।
संघको केन्द्रीय कार्यालयका अनुसार अधिवेशनसँगै विशेष सांस्कृतिक कार्यक्रमसमेत राखिने छ। कार्यक्रममा संघका पदाधिकारी, कलाकार, साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रमा सक्रिय तामाङ समुदायका प्रतिनिधिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
“सम्पूर्ण तामाङ कलाकारहरूको एकता, तामाङ कला, संस्कृतिको संरक्षण, विकास तथा प्रवर्द्धन हाम्रो प्रतिवद्धता” भन्ने मूल नारासहितको अधिवेशनमा संघले विगतको गतिविधि प्रस्तुत गर्ने, आगामी योजनाहरू पारित गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयमा छलफल हुने अध्यक्ष विशाल काल्तानले बताइएको छ।
कार्यक्रम भदौ २१ गते (शनिबार) बिहान ११ बजेबाट रोयल तिनचुली बैंक्वेट, तिनचुली चोक, बौद्धमा सुरु हुनेछ। संघले सम्पूर्ण सदस्य, शुभेच्छुक र संस्कृतिप्रेमी महानुभावलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आह्वान गरेको छ।
नेपाल तामाङ कलाकार संघले स्थापना कालदेखि नै तामाङ कला, संगीत र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको छ। वार्षिक अधिवेशनमार्फत संघले आफ्नो गतिविधि मूल्यांकन गर्ने र आगामी वर्षका लागि नयाँ कार्ययोजना अघि सार्ने भएको छ।

























