तेमाल– सामाजिक सुरक्षा भत्ता नविकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि तेमाल गाउँपालिकाले आफ्ना लाभग्राहीलाई सहज बनाउन वडै–वडामा पुगेर परिचयपत्र बनाउने अभियान चलाएको छ । गाउँपालिकाको यो कदमले ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक असक्तता भएका व्यक्तिहरूमा खुशी र राहतको अनुभूति जगाएको छ ।

भदौ ७ गतेदेखि १३ गतेसम्म चलेको एक साताको अभियानमा जम्मा २ सय २४ जनाले सेवा लिएका छन् । गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकरले “जनतालाई घरदैलोमै सेवा दिने” उद्देश्यसहित अभियान अघि बढाइएको जनाए ।

यसअघि यस्तो सेवाका लागि नागरिकता, वडामा सिफारिस र जिल्ला प्रशासन कार्यालयसम्म धाउनुपर्ने बाध्यता थियो । विशेषगरी उमेर ढल्केका र असक्तताका कारण लामो दूरी हिँड्न नसक्नेहरूको लागि यो अभियान वरदानसरह भएको हो ।

वडागत सेवा विवरण

  • भदौ ७ गते : वडा नं. ३ मा १० जना, वडा नं. ४ मा १३ जना

  • भदौ ८ गते : वडा नं. ६ मा ४३ जना, वडा नं. ७ मा ३६ जना

  • भदौ ९ गते : वडा नं. ५ मा २० जना

  • भदौ १० गते : वडा नं. ८ मा २७ जना

  • भदौ ११ गते : वडा नं. ९ मा ५ जना

  • भदौ १२ गते : वडा नं. १ मा २० जना, वडा नं. २ मा १० जना

  • भदौ १३ गते : गाउँपालिका कार्यालयमा ३९ जना

“अब भत्ता रोकिँदैन भन्ने विश्वास भयो”

वडा नं. ६ की ७५ वर्षीया वृद्धा धनमाया तामाङ भन्छिन्, “हाम्रो उमेरमा कतै धाउन सकिँदैन, तर वडा कै टोलमा आएर परिचयपत्र बनाए, अब भत्ता रोकिँदैन भन्ने विश्वास भयो ।”

यस्तै वडा नं. ७ का अपांगता भएका युवाले भने, “पहिले कागजपत्र बनाउन धुलिखेल धाउनु पर्ने थियो, अहिले गाउँमै सेवा पाउँदा सहज भएको छ।”

स्थानीयहरूमा सन्तोष

अभियानका कारण सेवा लिन बाधा हुने वर्गलाई सजिलो भएको छ । गाउँपालिकाले समयमै कदम चालेको भन्दै धेरैले प्रशंसा गरेका छन् । गाउँपालिकाको पहललाई निरन्तरता दिनुपर्ने मागसमेत गरिएको छ ।

तेमाल गाउँपालिकाको यो अभ्यासले स्थानीय तहबाटै नागरिकलाई सम्बोधन गर्ने उदाहरण प्रस्तुत गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।