तेमाल– तेमाल गाउँपालिकाले भदौ १५ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको विशेष स्वास्थ्य शिविर गाउँघरका बासिन्दामाझ आशा र सन्तोषको स्रोत बनेको छ । उच्च रक्तचाप, मधुमेह, नसर्ने रोगदेखि महिलामा देखिने पाठेघर मुख क्यान्सर (VIA) परीक्षणसम्मको सेवा गाउँमै पाउँदा ग्रामीण बस्तीका सर्वसाधारण हर्षित बनेका छन् ।

शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले भने, “स्वास्थ्य हरेक नागरिकको आधारभूत अधिकार हो । सबैको पहुँच सुनिश्चित गर्न गाउँपालिकाले यो अभियान चलाएको हो ।” उनले पालिकाका सबै बासिन्दालाई स्वास्थ्य परीक्षण गराई आफ्नो जीवनलाई सुरक्षित बनाउन आग्रहसमेत गरे ।

ग्रामीण भेगका महिलामा उत्साह

शिविरमा विशेषगरी महिलाको सहभागिता उल्लेख्य देखियो । पाठेघर मुख क्यान्सर परीक्षणका लागि लामो समयदेखि सोच्दै तर सेवाको अभावले पछि परेका महिलाहरू उत्साहका साथ सहभागी भए । वडा नं. ६ की ४५ वर्षीया कमला तामाङ भन्छिन्, “परीक्षण गर्न काठमाडौं जान सकिन्न, यहाँ गाउँमै सुविधा पाएर निकै सहज भएको छ ।”

जेष्ठ नागरिकलाई राहत

उमेर ढल्केका नागरिक पनि यो शिविरप्रति आभारी बने । ७० वर्षीय धनबहादुर लामाले भने, “रक्तचाप र सुगरको समस्या छ भन्ने थाहा थियो तर परीक्षण गर्ने सुविधा थिएन । अब रोग समयमै पत्ता लाग्ने भयो भन्ने सन्तोष छ ।”

विशेषज्ञ चिकित्सकको टोली

शिविरमा विभिन्न विशेषज्ञ चिकित्सकहरूको उपस्थितिमा उच्च रक्तचाप, मधुमेह, नसर्ने रोग र महिलाको पाठेघर मुख क्यान्सर सम्बन्धी परीक्षणहरू निशुल्क गरियो । गाउँपालिकाले भौगोलिक कठिनाइका कारण नियमित स्वास्थ्य सेवा लिन नसक्ने समुदायलाई लक्षित गरी यो कार्यक्रम ल्याएको थियो ।

निरन्तरताको माग

स्थानीयवासीले यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् । गाउँपालिकाले पनि स्वास्थ्य सेवामा पहुँचबाट वञ्चितलाई प्राथमिकतामा राख्दै भविष्यमा पनि नियमित यस्ता कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ ।

तेमाल गाउँपालिकामा आयोजित यस शिविरले “स्वास्थ्य अब केवल सहरमा सीमित रहने होइन, गाउँ–गाउँमा पनि पाउन सकिन्छ” भन्ने विश्वास जगाइदिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।