काठमाडौं। नेपाली र तामाङ गीत–संगीत क्षेत्रले एक अमूल्य स्वर गुमाएको छ। तीन दशकभन्दा बढी समय संगीत क्षेत्रमा सक्रिय रहेर हजारौँ गीतहरूमा आफ्नो स्वर दिएका इन्दिरा गोले तामाङको असामयिक निधन भएको छ। परिवारका अनुसार उहाँ लामो समयदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आउनुभएकी थिइन् र उहाँको निधन गएराति करिब १२ बजे भएको हो। अन्तिम संस्कार आजै तामाङ बौद्ध परम्परा अनुसार सम्पन्न गरिने परिवारले जानकारी दिएको छ।
इन्दिरा गोले तामाङको जन्म २०२३ सालमा, कार्तिक ३ गते बुबा जितबहादुर गोले र आमा कान्छीमाया तामाङको कोखबाट, ललितपुरको कुन्च्योसोम गाउँपालिका वडा ५ वारदेउमा भएको हो।
बाल्यकालदेखि नै संगीतप्रति आकर्षित उहाँले वि.सं. २०४५ सालमा रेडियो नेपालको स्वर–परीक्षण सफल पार्दै औपचारिक सांगीतिक यात्रा सुरु गर्नुभयो।
उहाँको तीन दशकभन्दा लामो सांगीतिक यात्रामा हजारौँ गीतहरूमा स्वर रहेको छ। उहाँले स्वर दिएकी चर्चित गीतहरूले उहाँलाई राष्ट्रिय स्तरमा परिचित गराएका थिए। मौलिक तामाङ सेलोलाई नयाँ पुस्तासम्म पुर्याउने र समग्र नेपाली संगीतमा स्थापित गर्ने उहाँको योगदान अतुलनीय मानिन्छ।
गोलेको गायन शैली सुमधुर, भावपूर्ण र आत्मीय थियो। गीतलाई सरल तर हृदयस्पर्शी ढंगले प्रस्तुत गर्ने क्षमता उहाँको विशेषता थियो। सहकर्मी कलाकारहरूका अनुसार उहाँ केवल गायिका मात्र नभई सम्पूर्ण तामाङ संगीत समुदायकी मार्गदर्शकका रूपमा पनि सम्झिइनुहुन्छ।
उहाँको निधनले तामाङ मात्र होइन, सम्पूर्ण नेपाली संगीत क्षेत्रमा ठूलो शून्यता पैदा भएको छ। यद्यपि, उहाँले सिर्जना गरेका गीत र स्वरले उहाँलाई सदैव जीवित राख्नेछ।