मिलन दोङ तामाङ ✍️ 

मलेसिया क्वालालम्पुर –फरेन वर्कर्स मेडिकल एग्जामिनेशन (FOMEMA) पास गर्न चाहने विदेशीहरूका लागि राहदानी किर्ते गर्ने गिरोहलाई मलेसियाको आप्रवासन विभागले पक्रिएको छ। कारबाहीमा पाँच जना बंगलादेशी पुरुष पक्राउ परेका छन्।

आप्रवासन विभागका महानिर्देशक दातुक जकारिया शाबानका अनुसार, पक्राउ परेका मध्ये दुई जना गिरोहका मुख्य योजनाकार हुन्। सेप्टेम्बर २ मा क्वालालम्पुरको जलान जलावत र जलान रजाक मेन्सनस्थित आवासीय स्थानमा छापा मारिएको थियो।

गिरोहले FOMEMA परीक्षण पास गर्न अयोग्य विदेशीहरूको सट्टा आफ्ना सदस्यहरूको फोटो राखेर राहदानी किर्ते गर्ने गर्दथ्यो। राहदानीमा विवरण आवेदनदाताको हुन्थ्यो तर फोटो गिरोहका सदस्यहरूको। यस्तो राहदानीको लागि प्रति व्यक्ति RM150 देखि RM250 सम्म लिने गरिएको थियो। यो गिरोह झण्डै तीन महिनादेखि सक्रिय रहेको बताइएको छ।

छापामा ८ वटा सक्कली बंगलादेशी राहदानी, १ वटा भारतीय राहदानी, ३ वटा नक्कली बंगलादेशी र ४ वटा नक्कली इन्डोनेसियाली राहदानी बरामद गरिएको छ। साथै विभिन्न देशका राहदानी कभर र पेज, कम्प्युटर, प्रिन्टर, मोबाइल फोन ११ थान, नगद RM2,100 र एउटा सवारीसाधन पनि बरामद गरिएको छ।

गिरोहले बंगलादेश, भारत, पाकिस्तान, म्यानमार, नेपाल र इन्डोनेसिया लगायतका देशका नागरिकहरूलाई सेवा दिँदै आएको थियो। गिरोहले बंगलादेशी एजेन्टमार्फत ग्राहक खोज्ने गरेको थियो।पक्राउ परेकामध्ये तीन जनासँग निर्माण क्षेत्रमा काम गर्ने वैध कार्य अनुमति (PLKS) थियो, एक जनासँग विद्यार्थी भिसा र एक जनासँग कुनै पनि वैध कागजात थिएन।

 

गिरोहको बाँकी सञ्जालबारे अनुसन्धान गर्न सम्बन्धित निकाय र दूतावासहरूसँग सहकार्य गरिने महानिर्देशक शाबानले बताए। आप्रवासन ऐन तथा नियम उल्लंघन गर्ने विरुद्ध कडा कारबाही गरिने चेतावनी पनि उनले दिएका छन्।  पक्राउ परेकाहरूलाई पुत्रजयास्थित आप्रवासन विभागको मुख्य कार्यालयमा लगिएको छ।

 

#sorceThe Star

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।