काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले आउँदो भदौ २१ गतेबाट सुरु हुने मध्य पहाडी लोकमार्ग अभियानलाई उपलब्धिमूलक बनाउने निर्णय गरेको छ।
बिहीबार बसेको पदाधिकारी बैठकपछि पार्टी प्रवक्ता अग्नि सापकोटाले अभियानको मोडालिटीमा छलफल गर्दै त्यसलाई सार्थक र उपलब्धिमूलक बनाउने विषयमा निर्णय भएको जानकारी दिए।
उनका अनुसार बैठकमा स्थायी कमिटीले अघि सारेका विषयहरूबारे छलफल मात्र भएको छ। “गुट उपगुट जस्ता विषय नरोकिए अनुशासनको दायरामा ल्याउने भन्ने विषयमा छलफल भयो, निर्णय भने पछि गर्ने कुरा भएको छ,” सापकोटाले स्पष्ट पारे।
बैठकले एकतामा आएका नेताहरूबीच कार्यविभाजन, महिला सम्मेलन र अभियानका तयारीबारे पनि छलफल गरेको उनले जानकारी दिए।
अभियान सञ्चालनका सन्दर्भमा ठूलो जनसभा भन्दा पनि आन्तरिक अन्तरक्रिया र संवादलाई प्राथमिकता दिने भन्ने निष्कर्ष बैठकले निकालेको सापकोटाले बताए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























