धुलिखेल- काभ्रे जिल्ला प्रशासन कार्यालयले जेन्जी पुस्ताको आगामी आन्दोलनका कार्यक्रमलाई लक्षित गर्दै जिल्लाभित्रका संवेदनशील क्षेत्रलाई शान्ति सुरक्षाको दृष्टिले संवेदनशील ठहर गर्दै धारा ६ (स्थानीय प्रशासन ऐन, २०२८) बमोजिम विशेष आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, काभ्रेले सोमबार सार्वजनिक आदेश जारी गर्दै २०८२ साउन २४ गते राति १२ बजेदेखि भोलिपल्ट राति १२ बजेसम्म लागू हुने गरी चार स्थान वरिपरि ४०० मिटर क्षेत्रमा सभा, जुलुस, प्रदर्शन, धर्ना, भीडभाड, र अवरोध गर्ने गतिविधि पूर्ण रुपमा निषेध गरेको हो।
प्रशासनले संवेदनशील क्षेत्र भनेर तोकेको स्थानहरू यसप्रकार छन् :
-
बनेपा नाका सडकखण्ड (नेपाल विद्युत प्राधिकरणदेखि रेडक्रसचोक, श्रीमेमोरियल अस्पताल हुँदै चण्डेश्वरी मन्दिर परिसर) वरिपरि ४०० मिटर।
-
बनेपा चारदोबाटोदेखि जर्बी बजार, श्रोतिसालसम्म ४०० मिटर।
-
जिल्ला प्रशासन कार्यालय काभ्रेदेखि जिल्ला प्रहरी कार्यालय हुँदै भोटेदोबाटोसम्म ४०० मिटर।
-
पनौती नगरपालिका–५ अरिकोट राजमार्गदेखि जुल्फेडी जेटीसम्म ४०० मिटर।
आदेश अनुसार यस अवधिमा जुलुस, जुलुस प्रदर्शन, सभा, धर्ना, भीडभाड र सुरक्षा प्रभावित हुने गतिविधि गर्न पाइने छैन।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जारी आदेशमा भनेका छन्, “शान्ति सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न यस्तो निर्णय लिनुपरेको हो।”
यसअघि २०८२ साउन २३ गते भएको Gen-Z आन्दोलनका क्रममा विभिन्न झडप र अव्यवस्थित स्थिति देखिएको कारण प्रशासनले थप सुरक्षा सतर्कता अपनाएको हो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























