धुलिखेल- काभ्रेपलाञ्चोक जिल्लामा जारी गरिएको निषेधाज्ञा र विभिन्न आदेशहरू हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले शुक्रबार जारी गरेको सूचनामा जिल्ला शान्ति सुरक्षा समितिको निर्णयअनुसार भदौ २६ गतेदेखि लागू हुने गरी यसअघि जारी गरिएको सबै आदेशहरू खारेज गरिएको जानकारी दिएको हो।

जिल्लाको शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएको भन्दै कार्यालयले यसअघि जारी गरिएको निषेधाज्ञा र आदेशको आवश्यकता नरहेको ठहर गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले हस्ताक्षर गरेको सूचनामा अब सामाजिक सद्भाव कायम राख्दै शान्ति–सुव्यवस्था कायम गर्न सबैमा अनुरोध गरिएको छ ।

जिल्लामा केही समयदेखि सुरक्षासम्बन्धी कारण देखाउँदै प्रशासनले विभिन्न गतिविधिमा रोक लगाउँदै आएको थियो। अवस्था सामान्य भएपछि शुक्रबारदेखि ती आदेश खारेज गरिएको हो।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।