धुलिखेल- काभ्रेपलाञ्चोक प्रहरीले जेन्जी आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले लुटिएका सुरक्षा सामाग्रीहरु अविलम्ब फिर्ता गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रे र बनेपा इलाका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हाे ।

सूचनामा नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीबाट प्रयोगमा ल्याइएका गोलीबारुद, हतियार, अस्रु ग्याँस, प्रहरी पोसाक तथा अन्य सुरक्षा सामाग्री कसैसँग भए वा भेटिएको खण्डमा तत्काल नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा सम्पर्क गरी यथाशीघ्र फिर्ता गर्न अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता प्रहरी नायव उपरीक्षक निम बहादुर कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा सो सामान फिर्ता नगरेमा कानूनी कारबाही हुने चेतावनी दिइएको छ । साथै, यस सम्बन्धमा जानकारी भएमा जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल १०० वा सम्पर्क नम्बर ९८५१२३५८३९ र ९८५१२३५८२८ मा सम्पर्क गर्न आग्रह गरिएको छ । प्रहरीले जनताको सुरक्षालाई ध्यानमा राख्दै सबैलाई सहकार्य गर्न आह्वान गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।