धुलिखेल- काभ्रेपलाञ्चोकमा भएको जेन-जीहरुको प्रदर्शनले ध्वंसात्मक रूप लिँदा सरकारी र निजी संरचनामा ठूलो क्षति पुगेको छ। मङ्गलबार बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका क्षेत्रमा नगरपालिका भवनदेखि प्रहरी चौकी, पार्टी कार्यालय र जनप्रतिनिधिहरूका निजी घरमा समेत तोडफोड, आगजनी र लुटपाट भएको हो।
बनेपा नगरपालिका भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ भने इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल, प्रहरी चौकी कुन्ताबेशी र अन्य प्रहरी संरचना आगलागी र तोडफोडका कारण ध्वस्त बनेका छन्। ती कार्यालयका कागजपत्र र फर्निचर पनि जलेर नष्ट भएका छन्।
त्यस्तै, पाँचखाल र हिगुवापाटीका प्रहरी चौकी, पनौती बसपार्क, चारदोबाटो र कुशादेवीका प्रहरी बिटमा समेत आगजनी र तोडफोड भएको छ। धुलिखेल कारागारमा कैदीले आगजनी गरेपछि सामान्य क्षति पुगेको र केही कैदीलाई सुरक्षाका लागि बाहिर निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
राजनीतिक दलका कार्यालयहरू पनि आक्रमणको निशानामा परेका छन्। नेपाली काँग्रेस र नेकपा एमालेका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ। त्यस्तै पाँचखाल नगरपालिका, पनौती नगरपालिका र बृहत खानेपानी आयोजनाको कार्यालयमा पनि तोडफोड भएको छ।
जनप्रतिनिधि र राजनीतिक नेतृत्वका निजी घरहरूमा पनि आक्रमण भएको छ। धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको घर जलेर ध्वस्त भएको छ भने पनौतीका पूर्व मेयर भीम न्यौपानेका दुई घरमा लुटपाट र आगजनी भएको छ। क्याप्टेन रामेश्वर थापा, पनौती नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा र वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको घर पनि आक्रमणमा परेको छ। बनेपास्थित युलेन्स स्कुलसमेत जलेर क्षतिग्रस्त भएको छ।
आक्रमणपछि प्रभावित परिवारहरू छिमेकीको शरणमा बस्न बाध्य भएका छन्। स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान, नियन्त्रण तथा क्षतिको मूल्याङ्कन गर्ने कार्य अघि बढाएको जनाएको छ। तोडफोड र क्षतिको थप विवरण संकलन भइरहेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।